काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छिन्। भ्रमणका क्रममा उनले भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था, महिला अधिकार र स्वास्थ्य क्षेत्रमा जर्मनी–नेपाल सहकार्यबारे जानकारी लिनेछिन्।
नेपालस्थित जर्मन दूतावासका अनुसार कोफ्लरले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई देशबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।
जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ। उक्त रकम तत्कालीन मानवीय सहायता, प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र दीर्घकालीन पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।
बाढीको प्रभाव र प्रभावित समुदायको अवस्थाबारे जानकारी लिन कोफ्लरले नुवाकोटको भ्रमण गर्नेछिन्। त्यहाँ उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी र प्रभावित नागरिकसँग भेट गरी मानवीय सहायता तथा पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने कार्यक्रम छ।
काठमाडौंमा उनले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाको भ्रमण गर्नुका साथै स्वास्थ्य क्षेत्रका सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्नेछिन्। नेपालका वर्तमान तथा भावी विकासका अवसर र चुनौतीबारे हुने छलफलमा गत वर्षको जेनजी आन्दोलन र सङ्क्रमणकालीन न्यायका विषयसमेत समेटिनेछन्।
सन् २००४ देखि जर्मन संसद्की सदस्य रहेकी कोफ्लर सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन्। उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यमा मन्त्रीलाई सहयोग गर्दै आएकी छन्।
यसअघि सन् २०२२ मा पनि नेपाल भ्रमण गरेकी कोफ्लरको यसपटकको भ्रमणले दुई देशबीच लामो समयदेखि कायम विकास सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया