Logo

समाचार

अर्थमन्त्रीको अभिव्यक्ति आत्मसमर्पणवादी भएको एमाले नेता पोखरेलको आरोप



काठमाडौं । नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई आत्मसमर्पणवादी भन्दै आलोचना गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको परराष्ट्र नीतिमाथि समेत प्रश्न उठाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले भारतसँगका सीमा विवाद, डुबानको समस्या र असमान सन्धिका विषय उठाउँदा भारतविरोधीको आरोप लाग्ने प्रवृत्तिप्रति आपत्ति जनाए । यस्ता विषयमा आवाज उठाएकै आधारमा भारतविरोधी भनिन्छ भने आफू हजारपटक त्यस्तो आरोप खेप्न तयार रहेको उनको भनाइ थियो ।

आफू भारतविरोधी नभएको स्पष्ट पार्दै पोखरेलले पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका लगायतका मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने धारणा राखे ।

उनले सरकारको कार्यशैलीमाथि पनि आलोचना गरे । राजदूत नियुक्तिका लागि गरिएको सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको आरोप लगाउँदै उनले नागरिकता विवादमा परेकी व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गर्नु गलत भएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।