काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ।
विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागका अनुसार इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने व्यक्तिले समेत दिनमा दुई क्यानभन्दा बढी पिउनु हुँदैन।
नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। विभागका अनुसार उत्पादित पेय पदार्थको लेबल र प्रयोगशाला परीक्षण प्रतिवेदनमा प्रतिक्यान १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण इएफएसए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीए लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामसम्म हुन सक्ने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्।
नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्समा प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको विभागले जनाएको छ। यद्यपि, क्याफिनको मात्रा कम हुँदैमा सबै व्यक्तिका लागि यसको सेवन सुरक्षित हुन्छ भन्ने नहुने भएकाले विभागले जोखिममा रहेका समूहलाई सेवन नगर्न सुझाव दिएको हो।
विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध र मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न पनि आग्रह गरेको छ। त्यस्तै, अन्य पेय पदार्थमा मिसाएर इनर्जी ड्रिङ्क्स सेवन नगर्न उपभोक्तालाई सुझाव दिएको छ।
उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले निर्देशन दिएको छ। उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश र सुरक्षित उपभोगसम्बन्धी जानकारी पनि स्पष्ट रूपमा सम्प्रेषण गर्नुपर्ने विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी जानकारी प्रवाह गर्न सरोकारवालालाई आग्रह गरेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।




















प्रतिक्रिया