Logo

रोजगार

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन सरकारको आग्रह



काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र अपुष्ट सूचनाप्रति युवा तथा श्रम तथा रोजगार मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले सत्यतथ्य पुष्टि नगरी संवेदनशील विषयमा सूचना प्रवाह गर्दा नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना हुन सक्ने भन्दै आधिकारिक स्रोतबाट मात्रै जानकारी लिन आग्रह गरेको छ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे सरकारका आधिकारिक माध्यमबाट प्राप्त सूचनामा विश्वास गर्न अपिल गरिएको छ।

मन्त्रालयका अनुसार नेपाल सरकारले वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि–सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद गरिरहेको छ। आपसी संवादमार्फत सम्बन्धित विषयको समाधान खोज्ने पक्षमा सरकार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

नेपाली श्रमिकको दीर्घकालीन हित संरक्षण गर्नु सरकारको प्रमुख दायित्व भएको जनाउँदै मन्त्रालयले नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित र पारस्परिक हितमा आधारित बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

त्यसैगरी, नेपाली श्रमिकको हित संरक्षण गर्दै दुवै देशलाई स्वीकार्य हुने पारदर्शी र निष्पक्ष कामदार छनोट तथा भर्ना प्रणाली विकास गर्न सरकार सकारात्मक रहेको मन्त्रालयले जनाएको छ।

नेपालको संविधान, प्रचलित कानुन तथा नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीका आधारमा श्रमिकका अधिकार सुनिश्चित गर्ने विषयमा सरकार सचेत रहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयकी सहसचिव तथा प्रवक्ता मिरा आचार्यले जारी गरेको विज्ञप्तिमा मलेसिया रोजगारीसम्बन्धी विषयमा अपुष्ट सूचना फैलाउनुको सट्टा आधिकारिक जानकारीलाई आधार बनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार २०:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।