काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा दुई अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४३ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र शुल्क तथा कमिसनबाट प्राप्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँबाट बढेर चार अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, शुल्क तथा कमिसनबाट प्राप्त खुद आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड ८७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
ब्याज तथा शुल्क कमिसनबाट हुने आम्दानीमा सुधार आएपछि बैंकको कुल सञ्चालन आम्दानी पनि बढेको छ। गत वर्ष पाँच अर्ब २७ करोड ४१ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर छ अर्ब १३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, करअघिको नाफा पनि दुई अर्ब ४८ करोड २२ लाख रुपैयाँबाट बढेर तीन अर्ब ६७ करोड २४ लाख रुपैयाँ कायम भएको छ।
यस अवधिमा बैंकको कर्जा गुणस्तरमा समेत सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.३१ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको असोज मसान्तमा घटेर ४.०६ प्रतिशतमा झरेको छ।
बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार गरेको छ। असोज मसान्तसम्म बैंकले ग्राहकबाट छ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप पाँच खर्ब ९२ अर्ब आठ करोड रुपैयाँ थियो।
त्यस्तै, बैंकको कर्जा लगानी चार खर्ब ७६ अर्ब एक करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकले चार खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको कुल सम्पत्ति पनि बढेर सात खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो सम्पत्ति सात खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ थियो।
बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ३५ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। त्यस्तै, सञ्चित मुनाफा २२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ९० पैसा रहेको बैंकको वितरणयोग्य नाफा नियामकीय समायोजनपछि एक अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ।




















प्रतिक्रिया