काठमाडौं। एनपीएल क्रिकेटको सबैभन्दा महंगो टोली पोखरा एभेन्जर्सले जारी प्रतियोगितामा पनि खराब प्रदर्शनलाई निरन्तरता दिएको छ ।
यसअघिका २ सिजनमा प्रतियोगिताको प्लेअफमा पुग्न नसकेको पोखरा यसपटकका शुरुवाती दुबै खेलमा पराजित भएको हो । आइतबारको खेलमा पोखरा जनकपुर बोल्ट्ससँग ९ रनले पराजित भयो । जितसँगै जनकपुरले भने ३ खेलमा दोस्रो जित हात पारेको छ ।
१४८ रनको लक्ष्य पाएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाएपनि जित दिलाउन सकेनन् ।
उनले २४ बलमा ५ चौका प्रहार गरे । यस्तै, विपिन आचार्य २० र विपिन खत्री १७ रन बनाउनुबाहेक कुनै ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
जनकपुरका लागि मोइन अलीले तीन, कप्तान हरमित सिंह र सैफ हसनले दुई दुई तथा जिम्मी निशम र ललित राजवंशीले एकएक विकेट लिए पछि पोखरा मध्यम योगफल भेट्टाउन पनि असफल भयो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि ओपनर त्रितराज दासले ५५ बलमा ६१ रन बनाए भने मोइन अलीले २१ रनको योगदान गरे । यस्तै अभिषेक तिवारी २४ रनमा अविजित रहे ।
पोखराका लागि सकिब अल हसनले सर्वाधिक तीन विकेट लिए भने चमिका करुणारत्ने दुई तथा महेदी हसन, र मोहम्मद सैफुद्दिनले एकएक विकेट लिएका थिए ।
लगातारको दुइ हारले पोखरा दबाबमा परेको छ भने दुइ खेल जितेको जनकपुर हौसिएको छ ।




















प्रतिक्रिया