काठमाडौं । नेपाल आयल निगमले घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासको आपूर्ति तथा मूल्य व्यवस्थापन गर्न मासिक कोटाको ३० प्रतिशत ग्यास व्यावसायिक मूल्यमा बिक्री गर्ने प्रस्ताव अघि सारेको छ।
शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा निगमले यस्तो प्रस्ताव गरेको हो। व्यावसायिक प्रयोजनका लागि छुट्टै क्षमताका सिलिन्डर बजारमा उपलब्ध नभएसम्म उद्योगहरूले निगमबाट खरिद गर्ने कुल ग्यासको ३० प्रतिशत व्यावसायिक मूल्यमा लिनुपर्ने प्रस्ताव गरिएको छ।
निगमले उक्त ग्यास व्यावसायिक प्रयोजनमा मात्रै बिक्री गर्ने व्यवस्था मिलाउन उद्योगहरूलाई सुझाव दिएको छ। त्यसका लागि निश्चित ब्रान्डमार्फत ग्यास बिक्री वितरण गर्ने विकल्पसमेत अघि सारिएको छ।
प्रस्तावबारे उद्योगीहरूले आपसी छलफल गरेर एक साताभित्र निगमलाई आफ्नो धारणा जानकारी गराउने भएका छन्।
छलफलमा ग्यास उद्योगको सञ्चालन लागत घटाउने विषयले समेत प्रवेश पाएको थियो। उद्योगहरूबीच एकीकरण गर्ने र देशभर एउटै लोगोमा सिलिन्डर बिक्री वितरण गर्ने विषयमा पनि छलफल भएको निगमले जनाएको छ।
निगम सञ्चालक समिति सदस्य नमराज घिमिरे र कार्यकारी निर्देशक नागेन्द्र साहको उपस्थितिमा भएको बैठकमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दसहित संघका पदाधिकारी सहभागी थिए।




















प्रतिक्रिया