Logo

खेलकुद

एनपीएल: सुदूरपश्चिम तेस्रो स्थानमा उक्लिँदा कुन टोली कुन कुन स्थानमा ?



काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो ।

१३० रनको लक्ष्य सुदूरपश्चिमले २० बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका ब्रान्डम म्याकमलानले २१ बलमा ४३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै इशान पाण्डेले २५ र आरिफ शेखले अविजित २० रनको योगदान गरे ।

यस्तै रदरफर्ड २१ रनमा अविजित रहे । चितवनका रञ्जितकुमारले तीन तथा मौसम ढकाल र रिजन ढकालले एक एक विकेट लिए पनि सुदूरपश्चिमलाई जितबाट रोक्न सकेनन् ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । चितवनका लागि रवि बोपारले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै विवेककुमार यादवले १७, डाविड मालान १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक एक विकेट लिए ।

आजको नतिजासँगै सुदूरपश्चिम ४ खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने चितवन ३ खेलबाट ३ अंकसहित पाँचौ स्थानमा छ । २ खेलबाट ३ अंक बनाएको लुम्बिनी चौथो स्थानमा छ ।

समान ३ खेलबाट समान ४ अंक बनाएको कर्णाली पहिलो र जनकपुर दोस्रो स्थानमा रहेका छन् । यस्तै विराटनगर छैटौँ, काठमाडौँ सातौँ र पोखरा आठौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार २०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।