काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरेको हो।
उक्त परिमाणको जुस निर्यातबाट नेपालले २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ। नेपाली जुसको सबैभन्दा ठूलो बजार छिमेकी भारत रहेको छ। यसबाहेक चीन र जापानमा पनि नेपाली जुस निर्यात हुँदै आएको छ।
नेपालबाट सबैभन्दा धेरै निर्यात हुने जुसमा विभिन्न फलफूलको मिश्रणबाट तयार गरिएको मिक्स जुस रहेको छ। समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको छ।
यस प्रकारको जुस भारत सहित चीन र जापानमा समेत निर्यात भएको छ । जसमध्ये भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार बराबरको १ करोड ५७ लाख ३३ हजार ३ सय ८६ लिटर जुस गएको छ ।
यसैगरी जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ मूल्यको १० हजार २ सय लिटर मिक्स जुस निर्यात भएको भन्सारको तथ्यांक छ ।
मिक्स जुसपछि नेपालबाट धेरै निर्यात हुनेमा सुन्तला र भुइँकटहरको जुस छ । पहिलो त्रैमासमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २ सय ७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ भने २२ करोड १३ लाख २२ हजार बराबरको १८ लाख ४३ हजार ३ सय २६ लिटर भुइँकटहरको जुस बाहिरी मुलुक पठाइएको छ । यी दुवै प्रकारका (सुन्तला र भुइँकटहर) जुस शतप्रतिशत भारतमा मात्रै निर्यात भएका हुन् ।
यसबाहेक नेपालले स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि उल्लेख्य मात्रामा भारततर्फ नै निर्यात गरेको छ । तथ्यांक अनुसार सोही तीन महिना अवधिमा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ मूल्यको १४ लाख ४८ हजार ९ सय ४ लिटर स्याउको जुस निर्यात भएको छ ।
त्यसैगरी १ करोड ५२ लाख ७४ हजार बराबरको १ लाख ९२ हजार २ सय ५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार मूल्यको १ लाख ५६ हजार १ सय ९२ लिटर गोलभेँडाको जुस पनि भारतमै निर्यात भएको छ ।





















प्रतिक्रिया