काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।
यसैगरी, बैठकले लामो समयदेखि अल्झिएको मोही जग्गाको समस्या समाधानका लागि म्याद थप गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ साल कात्तिकसम्म र त्यस्तो जग्गाको कारबाही टुंगो लगाइसक्नुपर्ने अवधि २०८६ साल असारसम्म थप गर्ने निर्णय भएको छ ।
यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न सरकारले स्वीकृति दिएको छ । साथै, कृषि क्षेत्रलाई व्यवस्थित गर्न नानो फर्टिलाइजर, बायो स्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्दै मल नियन्त्रण आदेशसमेत स्वीकृत गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले थप प्रत्यक्ष वैदेशिक लगानी गर्न सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ । कूटनीतिक तथा अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउने सन्दर्भमा टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ। परराष्ट्रमन्त्रीको नेतृत्वमा ६ देखि ८ जनाको प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी हुने मन्त्री पोखरेलले जानकारी दिए ।





















प्रतिक्रिया