काठमाडौं। बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा तथा औद्योगिक क्षेत्रमा लगानी र आर्थिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बङ्गलादेशको बागेरहाटस्थित मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
बङ्गलादेशको इन्भेस्ट बङ्गलादेश र चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन सीआरसीसी बीच भएको समझदारीपत्रमा इन्भेस्ट बङ्गलादेशको औद्योगिक क्षेत्र विभागका सदस्य सालेह अहमद र चिनियाँ पक्षबाट चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनका अध्यक्ष ली चोङयाङले हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर समारोहमा इन्भेस्ट बङ्गलादेशका अध्यक्ष अशिक चौधरी र सीआरसीसीका अध्यक्ष दाइ हेगेन पनि सहभागी थिए।
समझदारीअनुसार बङ्गलादेशमा पूर्वाधार, यातायात, रसद व्यवस्थापन, उद्योग, ऊर्जा, वातावरण संरक्षण तथा सीप विकासका क्षेत्रमा लगानी र आर्थिक सहकार्यका सम्भावना विस्तार गरिनेछ।
समझदारीपत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री रहमानले चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल गर्दै बङ्गलादेशमा थप चिनियाँ लगानी भित्र्याउन आग्रह गरे।
उनले मोङ्गलामा थप औद्योगिक कारखाना स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै बन्दरगाहदेखि देशको उत्तरी क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्न आवश्यक विद्युत् र ग्यास आपूर्तिको व्यवस्था मिलाइने बताए। यसका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिने उनको भनाइ थियो।
बङ्गलादेशको आर्थिक आधार बलियो बनाउन चिनियाँ लगानीकर्ताले पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री रहमानले चिनियाँ कम्पनीमार्फत मध्यपूर्वमा बङ्गलादेशी कामदारले रोजगारी पाएकोमा पनि आभार व्यक्त गरे।
दुई देशबीचको सहकार्यले आर्थिक विकासका साझा लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले बिहीबारको दिनलाई महत्त्वपूर्ण र खुसीको अवसरका रूपमा व्याख्या गरे।
प्रधानमन्त्री रहमान बिहीबार बिहान ९ः५० बजे हेलिकप्टरमार्फत मोङ्गला पुगेका थिए।





















प्रतिक्रिया