Logo

अर्थ

डिडिसीमा आर्थिक अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ



काठमाडौँ ।  दुग्ध विकास संस्थान डिडिसीमा भएको आर्थिक अनियमितता तथा संगठित अपराधको अनुसन्धानका क्रममा नेपाल प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो। सर्लाही निवासी ४५ वर्षीय शर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको सिआइबीले जनाएको छ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार सरकारी स्वामित्वको संस्थानमा तत्कालीन महाप्रबन्धकसहित उच्च तहका कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो नोक्सानी पुर्‍याइएको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीले पूर्वयोजना बनाएर विभिन्न समूह गठन गरी आपसी मिलेमतोमा संगठित सञ्जालमार्फत आर्थिक अनियमितता गरेको देखिएको छ।

उक्त अनियमितताका कारण संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको र सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ।

शर्मामाथि मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघातसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर शर्मालाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि प्रहरीले उक्त प्रकरणमा अनुसन्धानका लागि आठ जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार २१:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।