काठमाडौँ । नेपाल प्रहरीका आधारभूत तहका कर्मचारीले आफूले भोगेका समस्या, विभेद र पीरमर्काबारे अब सिधै गुनासो दर्ता गर्न पाउने भएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेका छन्।
प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीले भोग्ने समस्या र गुनासो नेतृत्व तहसम्म पुर्याउन सहज बनाउने उद्देश्यले स्थापना गरिएको उक्त डेस्कको आईजीपी केसीले औपचारिक शुभारम्भ गरेका हुन्।
उद्घाटनका क्रममा उनले नेपाल प्रहरीको सीयूजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ता गर्न मिल्ने गुगल फर्मको लिंक पठाएका थिए। साथै एक जना प्रहरी कर्मचारीको टेलिफोनमार्फत गुनासो सुनेर उनले डेस्कको सेवा सुरु गरेका थिए।
डेस्कको निरीक्षण तथा अवलोकनसमेत गरेका आईजीपी केसीले त्यहाँबाट प्रदान गरिने सेवाबारे जानकारी लिएका थिए।
तल्लो तहका प्रहरीका समस्या अब सिधै नेतृत्वसम्म
नेपाल प्रहरी संगठनको ८२ प्रतिशतभन्दा बढी जनशक्ति आधारभूत तहका कर्मचारी रहेको तथ्यलाई ध्यानमा राख्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरेर डेस्क स्थापना गरिएको हो।
प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीले कार्यक्षेत्रमा भोग्नुपरेका समस्या, कठिनाइ, विभेद तथा अन्यायका विषयमा सहज रूपमा गुनासो राख्न सक्ने वातावरण निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको छ।
उद्घाटन कार्यक्रममा आईजीपी केसीले तल्लो तहका कर्मचारीका गुनासा विभिन्न तह पार गर्दै नेतृत्वसम्म आइपुग्न कठिन हुने गरेको उल्लेख गरे। यही अवस्थालाई मध्यनजर गर्दै गुनासो छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न केन्द्रीय डेस्क स्थापना गरिएको उनको भनाइ थियो।
उनले आधारभूत तहका प्रहरी कर्मचारी संगठनको जग भएको उल्लेख गर्दै उनीहरूको सन्तुष्टि र मनोबलले समग्र प्रहरी सेवाको गुणस्तर निर्धारण गर्ने बताए।
सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म जनताले प्रत्यक्ष देख्ने र महसुस गर्ने प्रहरी संगठनको वास्तविक अनुहार आधारभूत तहका कर्मचारी नै भएको उनको भनाइ थियो। आधारभूत तहका कर्मचारी सन्तुष्ट नभएसम्म जनताले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिन हुने उनले बताए।
गुनासो मात्र होइन, नेतृत्व र कर्मचारीबीच विश्वासको सेतु
आईजीपी केसीले केन्द्रीय गुनासो व्यवस्थापन डेस्क गुनासो दर्ता गर्ने ठाउँमा मात्र सीमित नरहने बताए। उनका अनुसार यो नेतृत्व तह र आधारभूत तहका कर्मचारीबीच विश्वास स्थापित गर्ने माध्यम पनि हो।
कर्मचारीका गुनासोको प्रभावकारी सम्बोधन समग्र संगठनको कार्यसम्पादनसँग जोडिने उल्लेख गर्दै उनले प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिन निर्देशन दिए।
विशेषगरी गुनासोकर्ताको गोपनीयतालाई प्राथमिकतामा राख्न, निष्पक्ष रूपमा विषयको अध्ययन गर्न र समस्याको उचित समाधान खोज्न उनले डेस्कको जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
कस्ता गुनासा गर्न सकिन्छ?
केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमार्फत आधारभूत तहका प्रहरी कर्मचारीले आफ्ना पेशागत तथा कार्यक्षेत्रसँग सम्बन्धित समस्या राख्न सक्नेछन्।
यस प्रणालीको मुख्य उद्देश्य कर्मचारीलाई सहज, पहुँचयोग्य, गोप्य, निष्पक्ष र एकीकृत गुनासो व्यवस्थापनको सुविधा उपलब्ध गराउनु हो।
प्राप्त गुनासाको प्रमाणमा आधारित निष्पक्ष तथा शीघ्र सम्बोधन गर्ने, जिम्मेवार अधिकारीको जवाफदेहिता बढाउने र संगठनभित्र दोहोरिरहने समस्या तथा प्रणालीगत कमजोरी पहिचान गर्ने लक्ष्य पनि राखिएको छ।
त्यसैगरी कर्मचारीको हित र कल्याणसँग सम्बन्धित विषयमा नीतिगत, प्रशासनिक तथा सुधारका उपाय अवलम्बन गर्नसमेत डेस्कले सहयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो। साथै सातै प्रदेशका प्रहरी कार्यालय, प्रहरी शिक्षालय, तालिम केन्द्र, विमानस्थल सुरक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय तथा विभिन्न प्रहरी गणका प्रमुख र प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
नेपाल प्रहरीमा ठूलो हिस्सा ओगट्ने आधारभूत तहका कर्मचारीको गुनासो सुन्न छुट्टै संयन्त्र स्थापना भएपछि संगठनभित्रका समस्या सम्बोधनमा कस्तो प्रभाव पर्छ भन्ने कुरा भने यसको कार्यान्वयन र प्राप्त गुनासामाथि हुने कारबाहीले निर्धारण गर्नेछ।




















प्रतिक्रिया