प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए ।
नेपाली कांग्रेससले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको स्पष्ट गर्दै उनले सरकार सङ्घीयतालाई समेत कमजोर बनाउने क्रियाकलापमा लागिरहेको धारणा राखे ।
सभापति देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्न खोजिरहेको छ भन्दै आफ्नो दल प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने बताए । उनले प्रजातन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको अवस्थामा अनलाइन, फेसबुक, ट्विटरलगायत सूचनाको हक, लेख, वाक स्वतन्त्रता हनन गर्न खोज्ने सरकारको क्रियाकलाप कांग्रेससलाई सह्य हुनै छैन भने ।
एक प्रश्नको जवाफमा उनले वाइडबडी प्रकरणको वास्तविकता आउनुपर्दछ भने । सभापति देउवाले सीताको जन्मभूमि, गौरवमय इतिहास, मिथिला, मैथिली सभ्यता र संस्कृति, ज्ञान, बौद्धिकताको उद्गमस्थल जनकपुृरधामलाई नै प्रदेश नं २ को स्थायी राजधानी बनाउनुपर्ने धारणा राखे ।
उनले मैथिली भाषा उत्कृष्ट, विकसित र समृद्ध भएकाले प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा गर्नुपर्दछ भने । एक प्रसङ्गमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घको अधिवेशन छिट्टै हुने पनि बताए ।



















प्रतिक्रिया