काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ।
प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा रहेका बेला कांग्रेसले राष्ट्रिय महत्त्वका भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको हो।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। तर, भ्रमणअघि प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल तथा विषयविज्ञसँग परामर्श गर्ने स्थापित अभ्यासलाई सरकारले बेवास्ता गरेको उनको भनाइ छ।
शर्माका अनुसार कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो। त्यसका लागि गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको थियो।
उक्त विमर्शमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा छलफल गरिएको कांग्रेसले जनाएको छ।
तर, सरकारले परामर्शका लागि आवश्यक पहल नगरेपछि आफूहरूले नमागिएको औपचारिक सुझाव अघि सार्नु उचित नठानेको शर्माले बताएका छन्।
‘प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र होइन, सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै हुनुहुन्छ,’ शर्माले भनेका छन्, ‘राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ।’
यद्यपि, सरकारको कमजोरीलाई प्रधानमन्त्रीको भ्रमणका विषयवस्तुसँग जोडेर नहेर्ने कांग्रेसले स्पष्ट पारेको छ। सरकारसँग राजनीतिक असहमति भए पनि राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता अटल रहेको कांग्रेसको भनाइ छ।
कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण क्षणिक लोकप्रियता र तात्कालिक प्रचारमा मात्र सीमित हुन नहुने बताएको छ। विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्ने उसको अपेक्षा छ।
भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाले नभई त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले प्रधानमन्त्री शाहको भारत भ्रमण पूर्ण सफलताको कामनासमेत गरेको छ।




















प्रतिक्रिया