Logo

समाचार

रवीन्द्रलाई सम्झिएर सुवास नेम्वाङ भावुक, गुरुले भने– पालो मेरो थियो, ऊ गयो



ताप्लेजुङमा यही फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको परिवारजनलाई समवेदना प्रकट गर्ने विभिन्न दलका नेता तथा उनका गुरु अधिकारी निवास पुगेका छन् । सोमबार नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले रवीन्द्र अधिकारीको निधनले पु¥याएको क्षतिलाई कुनै शब्दमा उतार्न नसकिने भन्दै शोकलाई शक्तिमा बदल्न परिवारजनलाई आग्रह गरे ।

विकासका दूरगामी सोचाइ भएका हरेक कामलाई टुङ्गोमा पु-याउनसक्ने एक प्रभावशाली व्यक्तित्व गुमाउनु पर्दा पार्टी र आफूलाई निकै नरमाइलो लागेको नेम्वाङले बताए । उनले पछिल्लो समय रवीन्द्र अधिकारीसँग लगातार भेट भइरहेको र विकासका कुरा गरिरहेको स्मरण गर्दै भने, ‘हरेक विकासका कार्य प्रफुल्ल हुँदै सुनाउँथे । म छक्क पर्थे, समय धेरै भएको त छैन तर विकासको कस्तो स्पष्ट भिजन कस्तो लगनशीलता उनलाई देखेर गर्व गर्थें ।’

नेम्बाङले थपे, ‘रवीन्द्रले मसँग भनेका थिए, ‘दाइ म इलाममा एयरपोर्ट बनाउँछु, जहाज अवतरण गराउँछु अनि हजुरलाई लिएर जान्छु ।’ त्यसको तीन दिनपछि सीता एयरको जहाज अवतरण ग¥यो । उनले तीन दिनअघि मात्र दि राइजिङ नेपाल हेर्नु है भनेका थिए । १५ करोड ८० लाखको टेण्डर गराएका रहेछन् ।’

पूर्व सभामुख नेम्वाङले भने, ‘म चुहान डाँडामा विमानस्थल हेर्न गएको थिएँ । फर्कंदा उनको मृत्युको समाचार सुन्नु प¥यो । स्वीकार्न निकै कठिन भयो तर विकल्प थिएन । उनी हामीलाई छोडेर गइसकेछन् ।’ ‘उनले काठमाडौँको विमानस्थललाई बुटिक विमानस्थल बनाउन लागेका थिए । पोखरा र भैरहवा विमानस्थलका विकास गतिविधिलाई सुनाउँथे, प्रष्ट दृष्टि भएका योजनासहित जनताका बारेमा सोचिरहने व्यक्तित्वको अभाव सधैँसधैँ खड्किरहनेछ ।’

‘हरेक पल देश र जनताका बारेमा सोचिरहने मृदुभाषी एक व्यक्तित्व रवीन्द्रले सधैँ भन्ने गर्थे राजनीतिक ध्रुवीकरणबाट पार्टी जोगाउनुपर्छ, गुट उपगुटको अन्त्य हुनुपर्छ, सम्पूर्ण दल एकै ठाउँमा भएर समृद्ध देशका बारेमा सोच्नुपर्छ’, नेता नेम्वाङले स्मरण गरे। ‘आज उनले भनिरहेका कुरा कानमा गुञ्जिरहेका छन् । उनको विचार र लक्ष्यलाई स्थायित्व प्रदान गर्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।’

नेता नेम्वाङले अधिकारीलाई सम्झँदै भने,। ‘सधैँ म पोखरा आउँदा रवीन्द्र साथमा हुन्थे फेवाताल, सेतीका कुरा हुन्थे, रङ्गशाला र भारतीय दूतावाससम्मका कुरा हुन्थे, तर आज म पोखरामा म छु तर उनै प्रिय रवीन्द्र छैनन् ।’

यसैगरी परिवारजनमा समवेदना दिन पोखरा आइपुगेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिदेखि मन्त्री हुँदासमेत उनको आत्मीय व्यवहार प्रभावशाली क्षमताले सबैको मन जित्न सफल भएको बताए । राम्रो काम छिटो नै गर्नुपर्छ भन्ने एउटा सन्देश छोडेर रवीन्द्र गएको भन्दै असल मानिसले आफ्नो कर्म समयमै पूरा गर्नुपर्ने बताए । एउटा उदाहरणीय नेताको अवशानले परिवारजन मात्रै नभई देशलाई नै अपूरणीय क्षति पुगेको छ ।

प्रदेश नं ३ का पर्यटनमन्त्री अरुण नेपालले कुनै पार्टी आग्रह पूर्वाग्रहबिना काम गर्ने नेता भएको भन्दै विद्यार्थीकालदेखि नै रचनात्मक क्रियाकलाप गर्ने नेता रहेको बताए । उनी विभिन्न विकास निर्माण कार्यमा चिन्तन गर्ने गरेको बताए ।

गण्डकी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विद्यार्थी राजनीतिदेखि पार्टी राजनीतिसम्म असल दाजु, असल साथी र असल राजनीतिक अभिभावकका रुपमा रवीन्द्र अधिकारी रहेको र अधिकारीसँगका धेरै स्मरणयोग्य पल रहेको सुनाए । यो अप्रत्याशीत घटनालाई स्वीकार्न अझै पनि गाह्रो भएको भन्दै उनका अधुरा सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

रवीन्द्र अधिकारीका गुरु जोर्ज जोनले भने, ‘हरेक कुरामा पालो मिच्ने बानी थिएन तर आज रवीन्द्रले पालो मिचेर जानुभयो, म ८७ वर्ष पुगे जानुपर्ने बेला मेरो थियो । उहाँ किन जानु भयो ? मैले बुझिन ।’ विद्यार्थी राजनीतिमा पनि एक असल नेता रहेको र भन्न खोजेका कुरा तत्काल बुझ्ने, सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्ने एउटा असल विद्यार्थी राजनीतिक नक्षेत्र गुमाउनुपर्दा दुःख लागेको बताए । अर्का गुरु गेहेन्द्रश्वर कोइरालाले रवीन्द्र बहुआयामिक व्यक्तित्वका धनी रहेको र प्रत्येक समस्यालाई सिर्जनात्मक तरीकाले समाधान गर्नसक्ने असाधारण क्षमता अधिकारीमा भएको स्मरण गरे ।

नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्माले वैचारिक आस्था फरक भए पनि कतिपय अवस्थामा जनमुखी कामका लागि एकै स्थानबाट समस्या समाधानमा लागिपरेको स्मरण गरे । उनले हरेकको मन जित्नसक्ने एक सक्षम युवा नेतृत्व राजनीति क्षेत्रबाट अस्ताएको बताए ।मन्त्री अधिकारीको निवासमा भोलि २१ गते बिहान ८ बजे नेकपा कास्कीको आयोजनामा श्रद्धाञ्जलि कार्यक्रम राखिएको छ ।

ग्रामीण पर्यटन महोत्सव स्थगित

पोखरामा यही फागुन २३ देखि २५ गते हुने भनिएको ग्रामीण पर्यटन महोत्सव स्थगन भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशले आयोजना गर्न लागेको महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायतको निधनका कारणले स्थगन भएको भिटोफ गण्डकी प्रदेशका सचिव सुशीला भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

पर्यटनका आधारबाट समृद्धिको सपना देख्ने एक विकासप्रेमी नेता र वरिष्ठ पर्यटन व्यवसायीसहित राष्ट्रसेवक सात जनाको निधनले पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेकाले तत्काल अर्को मिति नतोकेसम्मको लागि महोत्सव स्थगन गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडलले जानकारी दिए । पौडेलले महोत्सवको नयाँ मिति चाँडै सार्वजनिक गरिने पनि बताए ।

आन्तरिक भ्रमण वर्ष २०१९ लाई लक्ष्य गर्दै गाउँ पर्यटनको विकास र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको महोत्सवमा पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धक रहने छ । भिटोफले दिवङ्गतप्रति श्रद्धाञ्जलि प्रकट गर्दै परिवारजनप्रति समवेदनासमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ०३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।