नेपाल राष्ट्र बैंकले एक वर्षमै ८३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाउनु र त्यसबाट सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउनु वित्तीय रूपमा सकारात्मक देखिन सक्छ। विदेशी मुद्रा सञ्चिति बढ्नु, बाह्य क्षेत्र बलियो हुनु र केन्द्रीय बैंकको आम्दानी वृद्धि हुनु पनि अर्थतन्त्रका लागि सुखद पक्ष हुन्। तर प्रश्न उठ्छ–राष्ट्र बैंकको वासलात चम्किँदैमा देशको अर्थतन्त्र पनि बलियो भएको मान्न सकिन्छ?
नेपालको वर्तमान आर्थिक अवस्थाले यसको जवाफ नकारात्मक संकेत गर्छ। केन्द्रीय बैंकको नाफा बढ्नुको प्रमुख आधार स्वदेशी उत्पादन, उद्योग विस्तार वा आन्तरिक आर्थिक गतिविधि होइन, विदेशी मुद्राको लगानीबाट प्राप्त ब्याज आम्दानी हो। गत आर्थिक वर्षमा विदेशी मुद्राको लगानीबाट मात्रै राष्ट्र बैंकले १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अर्कोतर्फ, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिए पनि निजी क्षेत्रमा कर्जा विस्तार कमजोर छ।
यो अवस्था सामान्य आर्थिक विरोधाभास होइन, अर्थतन्त्रभित्रको गम्भीर संरचनात्मक समस्याको संकेत हो। बैंकमा पैसा छ, ब्याजदर घटेको छ, तर उद्योगी व्यवसायी नयाँ लगानी गर्न उत्साहित छैनन्। यसको अर्थ लगानीको समस्या केवल पुँजीको अभाव होइन। लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, बजारको माग, प्रशासनिक सहजता र लगानी सुरक्षाको अभावले निजी क्षेत्रको मनोबल कमजोर बनाएको छ।
अर्कोतर्फ, नेपालको विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको छ। रेमिट्यान्सको निरन्तर प्रवाहले बाह्य क्षेत्रलाई बलियो बनाएको छ। तर यसलाई आर्थिक समृद्धिको स्थायी आधार मान्न सकिँदैन। लाखौँ नेपाली विदेशमा श्रम बेच्न बाध्य छन्। उनीहरूले पठाएको रकमले देशको विदेशी मुद्रा सञ्चिति बढाएको छ, तर त्यही श्रम र सीप स्वदेशमै उत्पादन र रोजगारी सिर्जनामा उपयोग हुन सकेको छैन।
वैदेशिक व्यापारको अवस्थाले पनि अर्थतन्त्रको कमजोर उत्पादन क्षमता उजागर गर्छ। निर्यातको तुलनामा आयात अत्यधिक ठूलो छ। आफ्नै उत्पादन बढाउन नसक्दा सामान्य उपभोग्य वस्तुदेखि औद्योगिक कच्चा पदार्थसम्म आयातमा निर्भर हुनुपरेको छ। विदेशी मुद्रा सञ्चिति बढे पनि उत्पादन क्षमता विस्तार हुन नसक्नु दीर्घकालीन आर्थिक जोखिम हो।
सरकारलाई राष्ट्र बैंकले दिने ४२ अर्ब रुपैयाँले तत्कालीन बजेट व्यवस्थापनमा केही राहत दिन सक्छ। तर यस्तो रकमलाई आर्थिक सुधारको विकल्प ठान्नु हुँदैन। केन्द्रीय बैंकको नाफामा निर्भर भएर सरकारी वित्तीय समस्या समाधान गर्ने सोचले उत्पादन, रोजगारी र लगानीका मूल समस्या ओझेलमा पार्न सक्छ।
अब सरकार र राष्ट्र बैंक दुवैले आर्थिक सफलताको मापदण्ड पुनर्विचार गर्नुपर्छ। विदेशी मुद्रा सञ्चिति कति बढ्यो र केन्द्रीय बैंकले कति नाफा कमायो भन्ने तथ्यांकसँगै निजी लगानी कति बढ्यो, कति उद्योग सञ्चालनमा आए, कति रोजगारी सिर्जना भए र आयात प्रतिस्थापनमा कति प्रगति भयो भन्ने विषयलाई प्राथमिकता दिनुपर्छ।
विदेशमा नेपालीले कमाएको पैसाको ब्याजबाट राष्ट्र बैंक धनी हुनु उपलब्धि हो। तर त्यसले स्वदेशी उद्योगलाई चलायमान बनाउन, युवालाई रोजगारी दिन र उत्पादन बढाउन सकेन भने त्यो उपलब्धि अधुरो रहन्छ। देशलाई बलियो बनाउने आधार ढुकुटीमा थुप्रिएको पैसा मात्र होइन, आफ्नै माटोमा उत्पादन गर्ने क्षमता र नागरिकलाई स्वदेशमै अवसर दिने अर्थतन्त्र हो। राष्ट्र बैंकको वासलात चम्किएको छ, अब त्यसको उज्यालो उद्योग, व्यवसाय र आमनागरिकको जीवनमा पुग्नुपर्छ।




















प्रतिक्रिया