Logo

प्रमुख समाचार

उपसभापति निधिको नेतृत्वमा उद्धारमा खटियाे कांग्रेस, सभापति देउवा मंगलबार जाने



नेपाली कांग्रेसले उपसभापति विमलेन्द्र निधिलाई हावाहुरीबाट पीडितहरुको उद्धारका लागि खटाएको छ । उनी आज विहानै उद्धारका लागि बारा र पर्साका अति प्रभावित क्षेत्रमा पुगेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति निधिको नेतृत्वमा बारा र पर्सामा उद्धारका लागि भन्दै टोली पठाएका हुन् । देउवा भने भोलि विहन त्यस तर्फ जाने भएका छन् ।

उपसभापति निधिको नेतृत्वमा केन्द्रिय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर, अजय चौरसिया, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव सहित प्रदेश २ का सांसदहरु, बाराका जिल्ला सभापति जयचन्द्र चौरसिया र पर्सा सभापति अजयद्धिवेद्धी सहितको टोली बारा र पर्साका विभिन्न प्रभावित स्थानमा खटिएको हो ।

आफू प्रभावित क्षेत्रमा आफ्ना नेता कार्यकर्ता सहित उद्धारमा रहेको बताउँदै उपसभापति निधिले हिजो आएको हावाहुरी अत्यन्तै विभत्स भएको बताए ।‘यो घटना अत्यन्तै विभत्स भएको मैले पाएको छु, पक्की घरका छानाहरु समेत बाँकी छैनन, पानी तान्ने कल समेत तलैबाट उखेलिएको छ ।’ बारा पुगेका निधिले भने ।

निधिले सबै भन्दा बढी प्रभावित फेटा, परशुरामपुर, हर्दिया, पुरैनीयाँ, तेलकुँवा लगायतका बढी प्रभावित क्षेत्रमा आफ्ना नेता कार्यकर्ताहरुलाई उद्धारमा खटाइएको जानकारी दिए ।

यस्तै उपसभापति निधिले पीडितका लागि भन्दै आफ्नो तर्फबाट २ लाख सहयोग वापत हस्तान्तरण गरेका छन् । उनीसँगै प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले समेत २ लाख नै राहत स्वरुप सहयोग गरेका छन् । यसैगरी अन्य नेता तथा प्रदेश सांसदहरु समेतबाट गरी कूल १० लाख बाराका प्रमुख जिल्ला अधिकारी मार्फत राहत कोषमा हस्तान्तरण गरिएको छ ।

निधि आज दिउँसो फेटा स्थित एकै परिवारका चार जनाको निधन भएकाहरुको दाहसंस्कारमा समेत सहभागी भए । उनले मृतकको परिवारसँग समेत भेट गरेका छन । फेटामा मात्रै १२ जनाको निधन भएको थियो ।

उपसभापति निधिले आफ्ना पार्टीका कार्यकर्ता तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई समेत उद्धार तथा राहतमा सहभागी हुन आग्रह गरे । निधि दाँतको उपचारका लागि आइतबार धुलिखेल अस्पतालमा भर्ना भएका थिए । तर पार्टीले जिम्मेवारी दिएपछि उनी उद्धालको नेतृत्व गर्दै त्यस तर्फ लागेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १४:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।