पूर्वमाओवादीले बखेडा निकालेका कारण मंगलबार नेताहरूको जिम्मेवारी तोक्नका लागि बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । पार्टीका विभिन्न विभागको पार्टीगत हिसाबमा बाँडफाँट भइसकेको छ । तर, कुन जिम्मेवारी कसलाई दिने भन्ने सन्दर्भमा भने विवाद निकालिएको थियो ।
खासगरी संगठन विभाग र स्कुल विभागका विषयमा पूर्वमाओवादीबाट दाबी आउन थालेपछि विवाद सतहमा आएको हो । पूर्वएमालेको भागमा परेको संगठन विभागमा नेता बामदेव गौतम र स्कुल विभागमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलको नाम टुंगो लागेको बताइएको थियो । तर यी विभागमा पूर्वमाओवादीले दाबी गर्न थालेको छ । संगठन विभागमा नेता नारायणकाजी श्रेष्ठ र स्कुल विभागमा रामबहादुर थापा बादलको दाबी रहेको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा श्रेष्ठ र बादलसहितको बैठकले यी विभागमा दाबी नगरे नेकपाभित्र पूर्वमाओवादीको वैचारिक र सांगठनिक हैसियत नै गुम्ने छलफल भयो । यसैकारण प्रचण्डले पनि यी विभागमा आफ्नो पूर्वपार्टीको दाबेदारी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गरेका थिए ।
संगठन विभागमा गौतमलाई समर्थन गरे स्कुल विभागमा बादललाई सहयोगको प्रस्ताव प्रचण्डले राखेका थिए । तर, यसमा श्रेष्ठ बाधक बनिरहेका छन् भने यता पोखरेलले पनि मानेका छैनन् । अध्यक्ष ओलीले भने आफ्ना भागमा परेका विभागमा आफूले चाहेका पूर्वपार्टीका नेताको नाममा सहमति गर्नुपर्ने सुझाव दिएका थिए ।
संगठन विभागको प्रमूखमा नेता गौतमले खुला रुपमा नै दाबी गरिसकेका थिए । मिडियासँग उनले उक्त जिम्मेवारीमा आफ्नो विकल्प नभएको बताउनासाथ श्रेष्ठले त्यसलाई चुनौति दिँदै भने,‘अहिले त आफू हुन्छु भन्ने उहाँलाई लाग्ला तर मंगलबार निर्णय आएपछि थाहा हुनेछ ।’
पछिल्लो समय प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिनुपर्ने लविङमा लागेका गौतममाथि नै पूर्वमाओवादीबाट विभागीय जिम्मेवारीमा हमला गरिएको छ । जसमा गौतमको रोष छ । उनले प्रचण्डलाई यसो किन गरेको ? भनेर सोधेको स्रोतले जनाएको छ ।यसै पनि प्रधानमन्त्री बन्ने गौतमको चाहनालाई मिडियामा चर्चाको विषय बनाएर ‘पेण्डुलम’ पारेको पीडा कायम छ । अहिले संगठन विभागको जिम्मेवारी पूर्वएमालेको छलफलमै सहमति भईसक्दा पनि सचिवालयको बैठकमा पूर्वमाओवादीको दाबीपछि उनी खिस्रिक्क परेका छन् ।
बालुवाटारमा बैठक डाकी ठूला नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, गौतम र पोखरेलको जिम्मेवारी तोकिएको थियो । नेपाललाई विदेश, खनाललाई प्रतिष्ठान, गौतमलाई संगठन र पोखरेललाई स्कुल विभाग दिने सहमतिअनुसार नै अघि बढेका बेला पूर्वमाओवादीले त्यसमा किचलो निकालेको पूर्वएमालेको दाबी छ ।
सोही सहमतिका आधारमा नै गौतम, पोखरेलको जिम्मेवारीबारे खुला रुपमा दाबी आएको थियो । संगठन विभागमा दाबी गरिरहेका श्रेष्ठलाई भने प्रचार विभागको जिम्मेवारी दिइएको थियो ।
यस विषयमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले खुमलटारको आदेशमा पूर्वएमालेका नेताको जिम्मेवारी तय नहुने बताउँदै कृपा र दयाको कुरा गर्न नहुने बताएका छन् ।
सैद्धान्तिक रिसइबीको भुंग्रोमा पोखरेल
नेकपाको राजनीतिक प्रतिवेदनमा कुन सैद्धान्तिक विषयमा चल्ने भन्ने विवाद चलिरहेका बेला नेता पाखरेलले प्रचण्डभन्दा एक कदम अघि बढेर जनताको बहुदलीय जनवाद नै हुने बताएका थिए ।
यति मात्र होइन, उक्त सैद्धान्तिक विचारलाई नेकपाभित्र व्यापक बनाउनका निम्ति देशभरका कार्यकर्तामाझ आफू पुग्ने पनि पोखरेलको दाबी थियो । पोखरेललाई ओलीले दिन लागेको स्कुल विभागको जिम्मेवारीलाई प्रचण्डले सैद्धान्तिक विषयको रिसिइवीको कारणसँग तुलना गरेर हेरेका छन् ।
स्रोतले भन्यो,‘स्कुल विभाग भनेको पार्टीका विभिन्न प्रशिक्षण र आगामी कार्यदिशा कस्तो हुनेछ भन्ने मुख्य जिम्मेवारीमा पर्छ, पोखरेल त्यसको प्रमूख भए जनताको बहुदलीय जनवादले नै प्रश्रय पाउने भएपछि पूर्वमाओवादी अत्तालिएका हुन् ।’
त्यसको त तत्कालका लागि नेकपाको राजनीतिक प्रतिवेदनमा प्रचण्डले भनेको जनताको जनवाद नै राखेर जाने सहमति भएको थियो । सोहीअनुसार राजनीतिक प्रतिवेदन प्रकाशनमा पनि सचिवालयमा सहमति जुट्यो ।
तर जनताको बहुदलीय जनवाद नै जनताको जनवादको पृष्ठभूमीको आधार रहेको भन्ने दाबी पोखरेललगायतको रहँदै आएको छ । त्यसमाथि सैद्धान्तिक बहसमा प्रचण्डसँग पोखरेलको स्पर्धाको प्रतिशोधका आधारमा स्कुल विभागमा पूर्वमाओवादीको दाबी रहेको बताइएको छ । यसैले पोखरेल प्रचण्डको निशानामा परेका हुन् । प्रचण्डको राजनीतिक विचारलाई छायाँमा पारेर जनताको बहुदलीय जनवादको स्कुलिङ पार्टीपंक्तिमा पुग्ने भएपछि पूर्वएमालेका विभागमा माओवादीको बक्रदृष्टि परेको पोखरेलनिकटस्थहरूले बताएका छन् ।
‘निर्मला पन्तको जस्तो घटना अमेरिकामा पनि हुन्छ’
गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कार र हत्या जस्ता घटना रोक्न नसकिने बताएका छन् ।मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले यस्ता घटना आज, भोली र पर्सी पनि भइरहने बताए । गृह मन्त्रालयले उक्त प्रकरणमा कुनै ठोस काम गर्न नसकेको भनी आलोचना बढीरहेका बेला मन्त्री थापाको यस्तो भनाई आएको हो ।
उनले यस्ता घटना अन्य देशमा पनि हुने बताउँदै भने,‘अमेरिकामा पनि हुन्छ ।’पन्त प्रकरणको राजनीतिकरण भएको बताउँदै उनले यसमा गृह मन्त्रालय वा अधिकारीको संलग्नता छ भन्नु गलत भएको दाबी गरे । ‘के त्यस्तै भएको छ त ? गृहले छानबिन नगरेकै हो त ?’, उनको प्रतिप्रश्न थियो ।
उनले यस प्रकारको घटना नयाँ नभएको बताउँदै पहिला पनि हुने गरेको दलिल पेस गरे । तर, प्रहरीले छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सफल भएको विवरण देखाउँदै भने,‘यस्ता घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत र कारबाहीमा ९७ प्रतिशत सफल छ ।’
प्रधानमन्त्रीको गुनासो : छानविन समितिको कार्यशैली उपयुक्त भएन
प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितिको कार्यशैली उपयुक्त नभएको गुनासो गरेका छन् ।
प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समितिको कामप्रति गुनासो गरेका हुन् ।
प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितिको हवाला दिँदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा।संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए । प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए ।
‘समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर, यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ’ प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको बताए । ‘प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर, त्यस्तो दबाबमा म पर्दिनँ । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु’ प्रधानमन्त्री ओलीले भने ।




















प्रतिक्रिया