Logo

बैंकिङ

विद्युतीय ग्रीड आधुनिकीकरण गर्न एडिबीसँग  १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौता 



काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेकाहुन्  ।

सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास तथा सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए  ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ  रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ बराबर नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिने जनाइएको छ । विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । उक्त आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत प्राधिकरण रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १५:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।