Logo

वर्षौँपछि खानेपानी योजना निर्माण शुरु



डडेल्धुरा अमरगढी नगरपालिका–७ का ५९४ घर परिवार खानेपानी योजना निर्माण हुनथालेपछि खुशी भएका छन् । वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आइरहेका यहाँका स्थानीयबासिन्दा घरघरमा खानेपानीका धारा निर्माण हुन थालेपछि हर्षित भएका हुन् ।

सङ्घीय सरकारको रु २३ लाख ८१ हजार, स्थानीय सरकारको रु ५४ लाख ११ हजार, गैर सरकारी संस्था ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको ? दुई करोड ४५ लाख र स्थानीय उपभोक्ताको रु ६७ लाख ६४ हजार जन श्रमदानमा खानेपानी योजना निर्माण भइरहेको खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष टेकबहादुर भण्डारीले बताए । उहाँले भन्नुभयो, “विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो, अहिले हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्नेगरी योजना शुरु गरिएको छ ।”

खानेपानी योजना निर्माण भएपछि अमरगढी–७ का स्थानीयबासिन्दा वर्षौँदेखिको खानेपानीको समस्याबाट मुक्त हुने स्थानीय गणेश पाण्डेले बताए । उहाँले भन्नुभयो, “यहाँका स्थानीयवासीलाई एक गाग्री पानी भर्नका लागि दिनभर पालो कुर्नुपर्ने बाध्यता थियो, अहिले खानेपानी निर्माण हुन थालेपछि सबै खुशी भएका छन ।”

योजना निर्माण शुरु भएपछि स्थानीयवासी बिहानदेखि बेलुकीसम्म काममा जुटेका छन् । योजना निर्माण गर्न जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एक जना काममा जुटेका हुन् । खानेपानी योजनाको शाखा लाइन खोदानमा जनश्रमदानको काम भइरहेको अमरगढी–७ का वडाध्यक्ष खडकबहादुर बोहराले बताए  । 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।