Logo

समाचार

सर्वोच्चमा एमालेको ३ रिट दर्ताः सभामुख र निर्वाचन आयोगको निर्णय बदर गर्न माग



नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता गरेको छ । एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको हो ।

पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै एमालेले सभामुख अग्नी प्रसाद सापकोटाको निर्णय बदर गर्न माग गरेको छ ।

यसैगरी दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । एमालेले निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पुर्‍याएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको दावी गरेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी दर्ता गर्दा दिल्लीमा रहेका झलनाथ खनालको समेत वारेसमार्फत सनाखत गरिएको भन्दै एमालेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेको छ ।

नेकपा एमालेले दर्ता गराएको तेस्रो रिट निवेदनमा लुम्बिनी प्रदेशका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई पार्टीले कारबाही गर्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको तर सभामुख पूर्णबहादुर घर्तीले कारबाही नगरेको भन्दै निर्णय बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।