कोरोना महामारीले अहिले ब्यापार व्यवसायले गति लिन सकेको छैन । भइरहेका कतिपय व्यवसाय समेत बन्द हुने अवस्थामा छन् । नेपालमा मात्र होइन छिमेकी मुलुक भारतमा समेत कोरोना संकटकै बीच १३ हजार विभिन्न कम्पनी बन्द भए । यस्तो अवस्थामा जोकोहीले नयाँ व्यापार व्यवसाय गर्न कम्पनी दर्ता गराउलान् ?
उत्तर आउन सक्छ सम्भव छैन । तर कम्पनी रजिष्ट्रारको कार्यालयमा पुग्दा दृश्य फरक देखिन्छ । त्यहाँ दैनिक कम्तीमा २ सय जना फाइल बोकेर नयाँ कम्पनी दर्ता गराउन पुग्ने गरेका छन् । कोभिड १९ महामारीकै बीच नेपालमा नयाँ कम्पनी दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ भन्दा आर्थिक वर्ष २०७७÷०७८मा नयाँ कम्पनी दर्ता गर्नेको संख्या करिब ८ बजारले बृद्धि भएको छ भने राजश्व पनि गत सालको तुलनामा झण्डै ५० प्रतिशत बृद्धि भएको छ ।
किन बढ्यो कम्पनी दर्ता संख्या ?
भनिन्छ, प्रत्येक कालो बादलमा एउटा चाँदीको घेरा हुन्छ । अर्थात्, जतिसुकै अप्ठ्यारो परिस्थिति वा विपतको अवस्थाले पनि केही न केही राम्रो पक्ष ल्याएकै हुन्छ । यही अप्ठेरो अवस्थामै पनि कतिपय व्यापार व्यवसायले राम्रो सफलताहरु हाँसिल गरिरहेका उदाहरणहरु पनि छन् । कोरोना महामारीकै अवधिमा औषधिजन्य बस्तु, खाद्यान्न,फलफूल लगायतका कृषिजन्य बस्तु ,रियल स्टेट,इलेक्ट्रोनिक सामानहरुको खपत झन् बढेको छ र त्यससँग सम्वन्धित पेशा व्यवसाय गर्नेले राम्रो आम्दानी गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा २०७६ साल चैतबाट नेपालमा लकडाउन शुरु भयो त्यसकै आसपासमा विदेशी मुलुकहरुमा पनि लकडाउन शुरु भयो । यसले विश्व अर्थतन्त्र ठप्प बन्यो ।देशमा हुने र विदेशमा हुने धेरैले रोजगारी गुमाए । अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्नेहरु अधिकांश विदेशबाट फर्किनेहरु विदेशमा जानेका शिपलाई नेपालमै प्रयोग गर्न पूनः नयाँ उत्साह बोकेर जानेहरु छन् । कम्पनी दर्ता गराउनेको संख्यामा उल्लेख्य बृद्धि हुनुमा कोभिडले देश तथा विदेशमा रोजगार गुमेको अवस्था र स्वदेशमै उद्यम व्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गर्न सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रमुख कारण रहेको कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार तुलसीराम गैरेको भनाई छ ।

स्टार्टअप कम्पनीलाई परियोजना धितो राखी एक प्रतिशत सम्म ऋण दिने घोषणा चालु आर्थिक वर्षको अध्यादेश मार्फत आएको बजेटले गरेको छ । सहुलियत दिने सरकारको घोषणा सँगै कम्पनी खोल्नेमा पनि आकर्षण देखिन थालेको छ । चालु आर्थिक वर्षको साउनमा मात्रै नयाँ कम्पनी दर्तामा करिब ४४ प्रतिशतको वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउनमा ३७ सय १० कम्पनी नयाँ दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा नयाँ कम्पनी दर्ता संख्या २ हजार ५ सय ९१ रहेको थियो ।
कुनमा बढी आकर्षण ?
प्राइभेट कम्पनी, पब्लिक कम्पनी, मुनाफा वितरण नगर्ने र विदेशी लगानीको कम्पनी गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा ४ प्रकारका कम्पनी दर्ता हुने गरेको छ जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनीहरु दर्तामा छन् । नेपाली कम्पनीलाई सहुलियत दिएको सरकारले यसवर्ष विदेशीलाई नेपालमा कम्पनी दर्ता गर्ने रकम बढाएपछि विदेशी कम्पनीको दर्ता संख्या भने घटेको छ ।
कोभिड र निषेधाज्ञाका कारण ठूला होटल र रेस्टुराँहरुले आर्थिक भार थेग्न नसकेर उपदान दिई अवकाश दिएका कर्मचारीहरुले रेस्टुराँ र क्याफेमा हात हालेका छन् ।त्यस्तै कृषि क्षेत्रलाई सरकारले विशेष सहुलियतको व्यवस्था गरेपछि कृषि उत्पादन र फार्म खोल्नेहरुको पनि आकर्षण बढेको पाइएको छ । कोरोना महामारीका कारण नागरिकको आर्थिक अवस्था जिर्ण भएको भनिएपनि धेरै रकम आवश्यक हुने घरजग्गा कारोवारसम्वन्धी व्यवसाय यही मौकामामा फस्टाएको कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकले देखाएको छ ।

सरकारले कारोवार गर्दा दिने छुट सुविधाले पनि यसतर्फको व्यवसाय बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६÷२०७७ मा घरजग्गा सम्वन्धि कारोेवार गर्न ३ हजार ८सय ७२ रियल स्टेट कम्पनी दर्ता भएकोमा २०७७÷०७८मा दोब्बर जसोले बृद्धि भई ६ हजार ५ सय ७३ कम्पनी दर्ता भएका छन् । दोब्बर बढीले दर्ता हुने अन्य कम्पनीमा कृषि फार्म तरकारीखेती,माछापालन स्वास्थ्यजन्य कम्पनी, होलसेलजन्य कारोवार र निर्माणजन्य सामग्री कम्पनी रहेका छन् । महामारीले सबैभन्दा बढी सिथिल बनेको भनिएको होटल तथा रेष्टुरेन्ट व्यवसाय पनि यो आर्थिक वर्ष सम्म आउँदा बन्दनै भएको छैन । बरु यस आर्थिक वर्षमा थप दर्ता संख्या बढेको छ ।
विदेशको रोजगारी छाडेर एअरपोर्ट छेउमै रेष्टुरेन्ट
विदेशको रोजगारी छाडेर गत चैत्रमा स्वदेश फर्किएका युवा सबिन अर्यालले कोभिड महामारीकै बीच अन्य व्यवसाय भन्दा होटलमै सम्भावना देखे र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै छेउमा ब्लुबेरी रेस्टुरेन्ट शुरु गरे ।

उनी भन्छन् : ‘होटल रेष्टुरेन्ट विशेषगरी शहरीया मानिसहरुको टहलिने थलो हो, नेपालीहरु खानपानमा शौखिन बन्न थालेका छन्, त्यसकारण मैले यही शुरु गरें ।’ नयाँ ट्रेण्ड समातेर जस्तो टिकटक स्टेसन, फोटो स्पोट, झुलाहरु निर्माण गरेर युवा पुस्तालाई लोकल रेस्टुराँ तथा होटलहरुमा आकर्षण गर्न सकिने उनी बताउँछन् । यसबाहेक कोभिड महामारीपछि अनलाइन फुड डेलिभरी जस्ता ई–कमर्स कम्पनीहरुको कारण पनि बन्द अवस्थामा समेत खानाको अर्डर आउने कारण लोकल रेस्टुराँ व्यवसायलाई चलायमान राख्न योगदान पुग्ने अपेक्षाका साथ काम शुरु गरेको उनको भनाई छ ।
जागिरको भर छैन, त्यसैले आफ्नै काम शुरु गरें
बैतडिकी जानु धामी पेशाले पाटन अस्पतालमा नर्सिङकी जागिरे हुन् । तर अस्थायी जागिरको भर नदेखेर उनले लकडाउनकै समयमा दर्ता गरेर बूढानिलकण्ठमा ‘गुरु वाइल्डलाइफ एग्रो फार्म’ शुरु गरेकी छिन् । विदेश जाने तयारीमा रहेका श्रीमानलाई समेत उनले रोकिन् र दम्पती मिलेर स्वदेशमै केही गर्ने अठोटका साथ कालिज फार्म शुरु गरे ।

जानु धामीको कालिज फार्म
शुरुमा १२ लाखबाट सुरु गरेको फार्ममा हालसम्म २५ लाख लगानी भइसकेको छ ।८ रोपनी जग्गा भाडामा लिएर शुरु गरेको कालिज फार्ममा अहिले उनले प्रशस्त सम्भावना देखेकि छिन् । त्यसैेले उनी चाँडै नर्सिङको जागिर छाडेर पूर्ण रुपमा यसैमा लाग्ने बताउँछिन् । उनी नेपालमा पेशा व्यवसाय गर्दै गर्दाका शुरुवाती चुनौति देखेर नभाग्न समेत सबैलाई सुझाव दिन्छिन् ।
आफुले व्यवसाय शुरु गर्दा भोगेको समस्या र कठिनाई सम्झँदै ‘ति कठिन दिन पार गरेँ, अहिले राम्रो आम्दानी छ ।’ उनी सन्तोष मिश्रित भाव पोख्छिन् ,अब चाँडै नै साथीहरुको सल्लाह बमोजिम रिसोर्ट खोल्दै छु । नेपालमा नव उत्साह बोकेका व्यवसायी र उद्यमीलाई प्रवद्र्धन लागि सरकारले विभिन्न योजना र कार्यक्रम ल्याएपनि बैंकसँगको तालमेल अभावमा परियोजना धितो राखेर कर्जा लिन भने झन्झट रहेको उनको गुनासो छ ।
समृद्धिका लागि पौरखी उद्यमी आवश्यक : शेखर गोल्छा

विश्वव्यापी कोरोना महामारीले नेपालमा समेत कहल्यिै नभोगेको आर्थिक र सामाजिक जोखिम व्यहोर्न बाध्य बनायो । हाम्रा सामाजिक सम्वन्धहरु खल्बलिए । अर्थतन्त्रमा ऐतिहासिक गिरावट आयो । यद्यपि समस्या र चुनौतिसँगै नव अवसर र सम्भावनाको ढोका पनि खोलिदियो । आँट हिम्मत र जोशले भरिएका धेरैले यो चुनौतिलार्ई छोपेर अवसरमा परिणत गर्न तल्लिन छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा समृद्ध देशका लागि युवाहरुमा स्वरोजगार र उद्यमशिलताको हुटहुटी जागृत हुनुपर्ने बताउनुहुन्छ । ‘नेपालमा अझै पनि युवाहरु कि त जागिर त्यो नभए विदेश जान तयार हुने तर आफ्नै देशमा लगानी गर्न डराउने परिपाटी छ ।’ साहसी र पौरखी उद्यमीले मात्र आर्थिक रुपान्तरण ल्याउन सक्छन् ।’गोल्छा थप्नुहुन्छ ।
उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’को लक्ष्य प्राप्तीका लागि हालसम्म ५ प्रतिशत मात्र काम भएको र ९५ प्रतिशत काम पुरा गर्न बाँकी रहँदा कार्यान्वयनको लागि गोल्छाकैै संयोजकत्वमा साना तथा मझौला उद्यमी व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राखेको छ । अर्थतन्त्रमा २२ प्रतिशत योगदान दिने यस्ता साना व्यवसायीलाई प्रोत्साहन पुग्ने गरी बित्तिय पहुँच बढाउन बैंकहरुसँग आवश्यक समन्वय मिलाएको उहाँको भनाई छ ।
अन्तमा, आँट गर्ने महनतीहरुकोे कहिल्यै हार हुँदैन । महामारीले नेपाललाई स्वाधीन अर्थतन्त्र निर्माण गर्न, लाखौंको संख्यामा विदेशिन बाध्य युवा जमातलाई आफ्नो देशभित्रै स्थापित गराउन, खाद्यान्नमा आत्मनिर्भर बन्न र आर्थिक वृद्धिमा नयाँ विकास अवधारणा निर्माण गर्न विशेष अवसर दिएको छ । उपयुक्त अवसरको खोजीमा भौंतारिरहेका युवा र काम गर्न जोशियका उद्यमिहरुलाई प्रोत्साहित गर्ने गरी सरकारले स्पष्ट र लचिलो नीति बनाउन ढिलाई गर्न हुँदैन ।















प्रतिक्रिया