Logo

कर्पोरेट फोकस

विद्युतीय बस सञ्चालनमा उर्जा मन्त्रालयको चासो, मन्त्री भुसाल पुगिन् साझा यातायातको कार्यालय



काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चासो दिएको छ । उर्जामन्त्री पम्फा भुसालको सक्रियतामा विद्युतिय बस संचालन गर्न साझा यातायातसँग छलफल भएको छ ।

पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर मन्त्री भुसालले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितसँग छलफल गरेकी छन् । छलफलका क्रममा दीक्षितले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेसनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराए । दीक्षितले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनु पर्ने भनाई राखे ।

बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस काठमाडौं आइपुग्ने जानकारी दिए ।

त्यस अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन् । उनले पहिलो चरणमा ललितपुर र काठमाडौं महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।