कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाले बन्द अवस्थामा रहेका दोहोरी साँझ र नाइट क्लवहरु अब संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट निषेधाज्ञा हटाएसँगै दोहोरी साँझ र नाइट क्लबहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्ने अनुमति मिलेको हो ।
काठमाडौंका जिल्ला प्रमुख अधिकारी (सीडीओ)कालीप्रसाद पराजुलीका अनुसार शुक्रबार सरोकारवालाहरुसँगको छलफलपछि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा दोहोरी साँझ र नाइट क्लबहरुलाई संचालन अनुमति दिइएको हो ।
यसरी संचालन अनुमति पाएका क्षेत्रको लागि निश्चित समयसिमा पनि तोकिएको छ । दोहोरी साँझ राती १२ बजेपछि संचालन गर्न पाइने छैन भने नाइट क्लबको हकमा राती २ बजेसम्म संचालन गर्न पाइने छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले सिनेमा हल संचालन गर्न पनि अनुमति दिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर क्षमताको अधारमा ५० प्रतिशत मात्र दर्शक राखेर हल चलाउन निर्देशन दिइएको सीडीओ पराजुलीले जानकारी दिए ।
वैशाख १६ गतेदेखि काठमाडौंमा जारी भएको निषेधाज्ञा बिहीबारदेखि विद्यालयबाहेक अन्य सबै क्षेत्र खुल्ला गरिएको छ । यसरी खुल्ला भएको क्षेत्रमा मापदण्ड पूरा भए नभएको नियमित अनुगमन हुने सीडीओ पराजुलीले जानकारी दिए । तर अझैपनि काठमाडौं उपत्यकाभित्र भिडभाड, सभा जुलुस, जात्रा महोत्सव गर्न भने पाइने छैन ।




















प्रतिक्रिया