नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अघिल्लो दिन अर्थात आज दर खाने दिन । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।
तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले भने शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको जानकारी दिए ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ। दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो।




















प्रतिक्रिया