नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज जारी गरेको प्रतिवेदन अनुसार नेपालमा गत आर्थिक बर्ष भन्दाअघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) रु.१९८ अर्ब ५२ करोड रुपैयाँले बढेको छ ।
२०७७ असार मसान्तसम्ममा नेपालले ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३० अर्ब ९७ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट रु.१५ अर्ब २७ करोड, आयरल्याण्डबाट रु.१२ अर्ब ९३ करोड र सिङ्गापुरबाट रु.१२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी भएको छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया