Logo

अटो

भारतमा सवारी साधन उत्पादन सेवा बन्द गर्ने फोर्डको घोषणा



अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भारतमा उत्पादन बन्द गर्ने भएको छ । केही समय अघिदेखि नै बन्द गर्ने हल्ला चलेको थियो । बिहिबार भने कम्पनीले भारतमा आधिकारिक रुपमै आफ्नो सवारी साधन उत्पादन सेवा बन्द गर्ने घोषणा गरेको हो ।

भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले सन् २०२२ को दोस्रो त्रैमासिकसम्ममा भारतमा हुँदै आएको आफ्नो सम्पूर्ण उत्पादन काम बन्द गर्नेछ ।

फोर्डको फिगो, इकोस्पोर्ट, फ्रिस्टाइल र इन्डेभोर गाडीहरूको सम्पूर्ण उत्पादन काम रोकिनेछ । यसर्थ कम्पनीले यी गाडीहरूको स्टक सकेसँगै बिक्री बन्द गर्नेछ । सन् २०२१ को अन्त्यबाट गाडीको निर्यात पनि बन्द हुनेछ ।

भारतबाट फोर्डको उत्पादन र निर्यात बन्द भएपनि भारतीय बजारमा भने फोर्डका सवारी उपलब्ध हुने बताइएको छ । यसको लागि कम्पनीले अन्य राष्ट्रहरूबाट सिबियू मोडलमा गाडी आयात गर्नेछ ।

त्यस्तै फोर्ड इन्डियाले आफ्नो हालको ग्राहकहरूमा सेवा यथावत प्रदान गर्नेमा प्रतिबद्धता जनाएको छ । ‘फोर्डले अहिले भएका ग्राहकहरूमा सेवा पुर्याउनेछ। यसको लागि फोर्डको नजिकका डिलरहरूसँग काम गर्नेछौं, ‘फोर्ड मोटर कम्पनीका अध्यक्ष एवम् सिइओ जिम फ्यार्लेले भने, ‘भारतमा उल्लेखनीय लगानीको बावजुद विगत १० बर्षमा हामीलाई २ अरब डलरभन्दा बढी रकम घाटा भएको छ । त्यस्तै नयाँ सवारी साधनको माग पनि पूर्वानुमानभन्दा धेरै कमजोर छ ।’

भारतमा फोर्डको वार्षिक ४ लाख गाडी उत्पादन गर्न सक्ने क्षमता भएको दुईवटा प्लान्ट छन् । तर कम्पनीले सोचेजति बजारमा फोर्डको माग भएन । त्यस्तै उत्पादन कम भयो । धेरै लगानी गरेपनि त्यसबाट कम्पनीले राम्रो प्रतिफल पाएन । उल्टो २ अर्बभन्दा बढी रकम नोक्सान भयो । त्यसै कारण पनि कम्पनीले भारतमा आफ्नो उत्पादन काम बन्द गर्न बाध्य भएको बताइएको छ ।

भारतमा फोर्डको उत्पादन काम बन्द भएसँगै झन्डै ४ हजार कर्मचारीलाई प्रतक्क्ष असर देखिनेछ । हाल फोर्ड इन्डियामा ११ हजारभन्दा बढी कर्मचारीहरू छन् ।

फोर्ड भारतीय बजारमा सन् १९९५ मा प्रवेश गरेको हो । सुरुमा यसले महिन्द्रासँग साझेदारी भारत प्रवेश गरेको थियो । तीन वर्ष पछि भने फोर्डले एकल रुपमा उत्पादन र अन्य काम सुरू गरेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार १२:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।