Logo

अर्थ

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाईने, बैंक तथा वित्तीय संस्थाबाट पनि सहज वितरण हुने



नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट वितरण सुरु गरेको छ । कोरोनाको जोखिम कायमै रहेका कारण भिडभाड कम गर्न र सर्वसाधरणले सहज किसिमले नयाँ नोट साट्न सकुन् भन्ने उदेश्यले राष्ट्र बैंकले दशैं सुरु हुनुभन्दा अगाडी नै नयाँ नोट वितरण गर्न थालेको हो ।

कोरोना महामारी केही कम भए पनि जोखिम कायमै रहेका कारण भिडभाड नहोस् भनेर यस वर्ष चाडैदेखि नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनले आजबाट नयाँ नोट वितरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई माग अनुसारको नयाँ नोट पठाइसकिएको पनि जानकारी दिए ।
ढकालका अनुसार राष्ट्र बैंकले बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरूबाट नयाँ नोट वितरण गर्नेछ । साथै ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालयदेखि सबै प्रदेशका कार्यालयहरूबाट नयाँ नोट वितरण हुन्छन् ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट सटही गर्ने सुविधा दिएको छ । जसमा ५, १०, २०, ५० र १०० का १/१ प्रति बन्डल सटही हुने राष्ट्र बैंकले जनाएको छ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना सङ्क्रमण निकै घटेपछि नयाँ नोट वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १४:५१   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।