Logo

अर्थ

विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु



नेपाल विद्युत प्राधिकरणले पोल प्रयोग गरेर बृद्दि भएको भाडा सम्झौता नगर्ने र भुक्तानी नगर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्न सुरु गरि सकेको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आजबाट तार काट्न सुरु गरेको हो ।

प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थालाई समय दिएको थियो । उक्त समयसीमाभित्र पनि ठूला इन्टरनेट सेवा प्रदायकले भाडा तिर्न नमाने पछि उनीहरुको तार काट्न सुरु गरिएको भरतपुर वितरण केन्द्रले बताएको छ ।

सेवा प्रदायकले टावरको भाडा नियमित तिरिरहेको भए पनि पोल भाडा भने तिरेका छैनन् । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयको निर्देशन अनुसार पोल भाडा नतिर्ने सेवा प्रदायकको तारहरु शनिबार सांकेतिक रुपमा काटिएको भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिव सिंहले जानकारी दिए ।

‘सम्झौता नगरिकनै पोल प्रयोग गरिरहेका र भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ,उनले भने, ‘यो सांकेतिक रुपमा सुरु गरिएको छ । सबै जिल्लामा इन्टनरनेट अवरुद्ध भएको छैन । तार काट्ने कामलाई निरन्तरता दिन्छौँ ।’ भाडा सम्झौताका लागि छिटो आउन उनले सेवा प्रदायकलाई आग्रह पनि गरेका छन् ।

नेपाल टेलिकम र एनसेलबाहेकका इन्टरेनटका तारहरु काटिएको उनले बताए । टेलिकम र एनसेलले पोल भाडा दिइसकेको उनको भनाइ छ । जिल्लामा सुविसु, भायनेट, क्लासिक टेक लगायतका ठूला इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएका छन् ।

स्थानीय इन्टरनेट तथा केबुल सेवा प्रदायकले पोल भाडा तिरिसकेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए । २०७५ असारदेखि प्राधिकरणले पोल भाडा बढाएपछि प्राधिकरण र सेवा प्रदायकबीच विवाद बढेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १५:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।