Logo

अर्थ

निमित्तको भरमा ४ बैंक, सीइओकोे नियुक्ती कहिले होला ?



निमित्तको भरमा ४ बैंक, सीइओको नियुक्ती कहिले होला ?

झण्डै २ महिनाभन्दा बढी समयदेखि ४ वटा वाणिज्य बैंक निमित्त कार्यकारी अधिकृतको भरमा चल्दै आएको छ । लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ नियुक्ति हुन नसक्दा कुमारी बैंक, सेन्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक र बैंक अफ काठमाडौं निमित्तको भरमा चल्दै आएको हो ।

उल्लेखित चारवटै बैंकका सीईओहरु सरदर एकै समयजस्तो बहिरिएका हुन् । जसका कारण निमित्तहरुले नै बैंक चलाइरहेका छन् । गत असार २७ गते सेन्चुरी बैंकका सीईओ तुलसीराम गौतमले छाडेपछि मनोज न्यापौनेलाई निमित्त सीईओ हुने अवसर प्राप्त भयो ।

कुमारी बैंकका सीईओ सुरेन्द्र भण्डारीले असार ३१ बाट बिदा लिएपछि अनुज तिमिल्सेनालाई निमित्तको जिम्मेवारी दिइयो भने सिद्धार्थ बैंकबाट साउन १८ गते शम्भु गौतमले सीईओबाट राजिनामा दिएपछि सुन्दरप्रसाद कँडेलले निमित्तको जिम्मेवारी पाए । त्यस्तै बैंक अफ काठमाडौंबाट सीईओ शोभनदेव पन्तले अवकास पाएका कारण श्रवण मास्केले निमित्त हुने मौका पाए ।

यसरी निमित्तको भरमा बैंकहरु चल्दै गर्दा सीईओहरु कहिले नियुक्त हुन्छन् भन्ने कुराको कुनै टुङ्गो नभएको बैंकिङ बृत्तमा चर्चा हुने गरेको छ । सीईओ रिक्त भएका बैंकहरुमा निमित्तहरुले कार्यभार सम्हालिरहँदा अन्य बैंकका सीईओहरुको पनि पदावधि सकिंदै गएको एक बैंकरले बताए । उनका अनुसार सानिमा, नविल र मेघा बैंकका सीईओ कार्यकाल पनि सकिन लागेको छ । नेपाल राष्ट्र बैंकको नियमनुसार एकै बैंकमा दुई कार्यकाल भन्दा बढी एकै सीईओले दोहोरिन पाउँदैनन् ।

निमित्तले ३ महिनासम्म बैंकहरू सञ्चालन गर्न पाउने भएकाले पनि सीईओ नियुक्तिमा संचालकहरूले ढिलाई गरेको हुनसक्ने स्रोतले बतायो । संचालकहरुले विभिन्न बाहनामा ३ महिनासम्म हुने सीईओको खर्च कटौती, सम्भावित मर्जरलगायतका विषय उठाएर सीईओ नियुक्तिमा ढिलाइ गरिरहेका छन् । स्रोतका अनुसार दशैं अगाडी बैंकहरुले सीईओ नियुक्त गर्ने संभावना एकदमै कम रहेको छ । यस्तै तरिकाले हो भने उनिहरुले सीईओ नियुक्तिमा ३ महिना गुजार्ने निश्चित भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १२:२५   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।