काठमाडौं । सांसदहरुले यस वर्ष दशैं भत्ता नपाउने भएका छन् । अर्थ मन्त्रालयबाट दशैँ भत्ता नआएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले यसवर्ष दशैँ भत्ता नपाउने भएका हुन् ।
यसअघिका वर्षमा सांसदहरूले दशैँ भत्ता बापत रकम पाउने गरेको भएता पनि संसद सचिवालयमा अर्थ मन्त्रालयले छुट्टै बजेट नपठाएपछि सांसदहरुले नियमित तलब मात्र पाएका हुन् । संसद सचिवालयका अनुसार सांसदहरुलाई दशैं भत्ता वापत रकम उपलब्ध गराउनका लागि मन्त्रिपरिषद्बाट सिफारिस भएर बजेट आउनुपर्छ । तर यसपाली सचिवालयमा त्यस्तो कुनै निर्णय नगएको पाइएको छ ।
संसद सचिवालयबाट प्रतिसांसद मासिक ६६ हजार ७० रुपैयाँ र सांसदको स्वकीयका लागि मासिक ३७ हजार रुपैयाँ तलब बापत पाउने गरेका छन् । सँधैका वर्षहरुमा प्रति एक महिनाको तलब बराबरको थप रकम दशैं भत्ता बापत सांसदहरुले बुझ्ने गरेका थिए ।
प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ गरी कुल ३३४ सांसद् छन् । यतिको संख्यामा रहेका सांसदहरुका लागि सरकारी खाताबाट मासिक रु. २ करोड २० लाख ६७ हजार ३८० रूपैयाँ खर्च हुने गरेको छ भने त्यतिकै संख्यामा रहेका स्वकीयलाई ३७ हजारको दरले मासिक ३३ लाख ३५८ रुपैयाँ खर्च हुँदै आएको छ । यसरी हेर्दा सांसद र उनीहरुका स्वकीय सचिवहरुका लागी प्रति महिना २ करोड ५३ लाख ६७ हजार ७३८ रुपैयाँ खर्च हुने गरेको छ ।
सभामुख, अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रियसभाका उपाध्यक्ष, विपक्षी दलका नेता, सत्तापक्षका नेता र मुख्य सचेतक लगायतको तलबमा थप सुविधा समेत हुन्छ । तलबबाहेक संसद सचिवालयले विशेष भत्ता, टेलिफोन, इन्टरनेटलगायतको सेवा सुविधा समेत उपलब्ध गराउने गरेको छ ।





















प्रतिक्रिया