Logo

अर्थ

राष्ट्र बैंकद्वारा १० अर्बको रिपो जारी



नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकले सात दिन अवधि राखेर विहिबार रिपो जारी गरेको हो ।

पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेपछि केही समयदेखि बैंकहरूमा लगानी योग्य पैसा (तरलता) अभाव हुँदै आएको थियो ।

पैसा नभएपछि केही बैंकहरूले कात्तिक १ गतेदेखि लागू हुनेगरी बचतमा ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्‍याएका थिए । तर बढाएको दुई दिन पनि नहुँदै राष्ट्र बैंकले बढेको ब्याज फिर्ता गराउन निर्देशन दियो ।

मंगलबार राति ब्याजदर फिर्ता लिएर बुधबार नयाँ ब्याजदर कायम गर्न निर्देशन दिएको राष्ट्र बैंकले बुधबार साँझ १० अर्ब रूपैयाँको रिपो जारी गर्ने सूचना सार्वजनिक गर्यो ।

राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार आगामी कात्तिक ११ गते परिपक्व हुने १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट क, ख र ग वर्गका बैंकिङ प्रणालीमा प्रवाह गरिएको छ ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते पनि २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरिएको थियो ।

बैंकहरुमा देखिएको तरलता अभाव टार्नको लागि पटकपटक गरी राष्ट्र बैंकले १ खर्ब भन्दा माथि रिपो जारी गरिसकेको छ ।

प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार  १ : १७ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।