Logo

टिप्पणी

‘अपरिचित अनुहार’ भित्रको सूक्ष्म रेखाहरू



लगातार दुई महिनाको सर्वेक्षणमा बेस्ट सेलर बनिसकेको नवीनतम् कृति हो ‘अपरिचित अनुहार’ । युवापुस्तामा लोकप्रिय बनेका कथाकार हुन ‘महेश पौड्याल’ । ‘महेश पौड्याल’ यो नाम वर्तमान समयमा नेपाली साहित्य लेख्नेले नसुन्ने कुरै रहेन । शिखा बुक्सले बजारमा ल्याएको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ अहिले बजार तताउन लागिपरेको देखिन्छ ।

त्यसो त कृतिको नाम ‘अपरिचित अनुहार’ भए पनि कथाकारको नाम ‘अपरिचित’ भने होइन । शालीन शैली र विनम्र व्यवहारले घेरेको व्यक्तिले कस्ता कथा लेख्लान् भनेर सोच्नु आवश्यक छैन । किनकि कथाको रूपमा ‘अपरिचित अनुहार’ पौड्यालको दोस्रो कृति हो । योभन्दा अगाडि प्रकाशित भएको ‘त्यसपछि फुलेन गोदावरी’ कथासङ्ग्रहले आफूलाई कथाकारको दर्जामा उपस्थित गराइसकेका व्यक्ति हुन पौड्याल ।

१५३ पृष्ठको पुस्तकमा १८ वटा कथा समावेश भएका छन् । १८ वटा कथाले आफ्नो आफ्नो धरातल लिएर उभिएको देखिन्छ । ‘अपरिचित अनुहार’ लाई कुनै एक किसानले थपक्क उठाएर पढ्यो भने उसले १८ कथालाई १८ कठ्ठामा १८ थरी बालीमा भेट्छ । कुनै चालकले १८ घुम्ती भेट्छ । यहाँनेर भन्न के खोजेको भने यहाँ १८ वटा विषय छन् । र ती विषयले आफ्नो भाग बोकेर बसेका छन् ।

यो समयमा कथा कसरी लेख्ने भन्ने प्रश्नको जवाफ सजिलै पाइन्छ । कथा कसको लेख्ने भनेर हिँड्यो भने चोक चोकमा कथा र पात्र भेटिन्छन् । तर कथा किन लेख्ने भन्ने प्रश्नको जवाफ भने पुसमा नुहाउनु जत्तिकै गाह्रो छ ।

कवि टीका आत्रेय भन्छिन्, “प्रत्येक कृतिको नामाकरणले त्यो कृतिभित्रको कथाबस्तुको प्रतिनिधित्व गरेको हुन्छ । वर्षौँदेखि अस्तित्वमा रहेर पनि सधैँ छायामा बस्न बाध्य अनुहारहरूको कथा नै ‘अपरिचित अनुहार’ हो । अर्थात् आवाजविहीनहरूको आवाज र दृष्टिविहीनहरूको दृष्टिलाई उठाएर लेखिएका कथाहरूको सङ्ग्रह नै अपरिचित अनुहार हो ।”

लेखकले समाजको ऐना पाठकलाई छर्लङ्ग देखाइदियो भने लेखक र कृति बाँच्छ भन्ने उदाहरण त पुष्कर शमशेरको ‘परिबन्द’, गुरुप्रसाद मैनालीको ‘नासो’ वा विश्वेश्वरप्रसाद कोइरालाको ‘श्वेतभैरवी’ ले नै प्रष्ट पार्दछ ।

त्यसरी नै नियात्राका बादशाह प्रतीक ढकालको ‘अपरिचित अनुहार’ माथि भनाइ छ कि ‘अपरिचित अनुहार’ नेपाली समाजभित्र रहेका त्यस्ता पात्रहरूको कथा हो जसलाई मुलुकको शासन प्रणाली र समाजको पनि अधिकांश हिस्साले देखेकै छैन, चिनेकै छैन, तैपनि ती पात्रहरू यही समाजका अभिन्न अङ्ग हुन् ।

हुन त हामी कथामा होस् वा कवितामा समाचारमा धेरै अल्झिएको सर्जक छौँ । समाचारलाई आफ्नो धर्म निभाउन दिएर सर्जकले सृजना गर्नुपर्छ भन्ने विषयमा छलफलहरू भइरहेका छन् । समालोचक राजकुमार बानियाँले नेपाली लेखकहरू कथाको नाममा घटनाको मुचुल्का उठाउने वर्तमान समयमा पौड्यालले अपरिचित अनुहारमा त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्टि भित्रिएको दाबी गर्छन् ।

समीक्षक अशोक थापाले ‘महेश पौड्यालको व्यतिmगत संवेगलाई सार्वजनिक संवेगमा परिवर्तन गर्ने प्रवृत्ति जुन कथामा प्रयोग भएको छ, त्यो निकै प्रशंसनीय रहेको ठहर गर्छन् ।

रूपक अलङ्कार आफ्नो लेखोटमा थप्छन् कि कथाकारको कल्पनाशीलता र संवेदनशीलताको सूक्ष्म प्रभावले कथा आद्र्रित छन् । कुनै पनि विषयमाथि हल्का टिप्पणी नगरेर विषयको अन्तःतत्त्व पहिचान गरेपछि मात्र आफ्नो राय प्रकट गर्ने कथाकारको व्यक्तिगत प्रवृत्ति यस संग्रहमा पनि प्रतिबिम्बित भएको छ । कथाहरूमा उदार हृदय, फराकिलो छाती, साहचर्य र सहअस्तित्वको मूल मर्मलाई अझ फैलिने अवसर दिइएको छ ।

गजलको व्याकरणमा खरा मानिएका घनेन्द्र ओझाको आफ्नै मत छ । उनी भन्छन् “किन हुँदैन निराशामा जीवन ? आँसुमा आदर्श छैन कसले भन्छ ? कसले ‘विचार’ र ‘प्रगतिशीलता’ देख्दैन संवेदनामा ? को ठान्छ कि जीवनमा फूलैफूलको मात्र साम्राज्य हुनुपर्छ ? काँडाबाहेक गरेर किन मुस्कुराउन सक्छ गुलाफ ? यी प्रश्नको सटिक उत्तर हो– ‘अपरिचित अनुहार ।’

जीवनका मूलतः ‘विसंगत’ पक्षको उद्घाटन बडो दार्शनिक र कारुणिक पारा (शैली) मा गर्न खप्पिस साहित्यकार, समालोचक, अनुवादक उपप्राध्यापक महेश पौड्यालको यो कथाकृतिले पटकपटक पाठकका आँखाका डिल र गालाका भित्ता समाउन बाध्य पार्छ ।”

यी त भए तानाबानाहरू । कथामा चाहिँ के देखिन्छ भन्ने एउटा उत्सुकता सबैलाई रहेको छ । मैले ‘अपरिचित अनुहार’ पढिरहँदा कथामा भेटेको कथाभित्रका सूक्ष्म रेखाहरू भने यस्ता छन् ।

बार्दलीको एउटा अनुहार — प्राचीनकालदेखि नै नायकत्व भनेको ठूलाबढा, राजा, मन्त्री, सेनापती, भगवान्, वा सन्तमा मात्रै खोजिने परम्परा बस्यो । कसैले पनि तल्लो तप्काको एउटा सामान्य मान्छेमा पनि नायकत्व हुन्छ भन्ने कुरा सोच्दै सोचेन । कथामा एउटा खलासीभित्र मानवताको मूल देखाएर कथाकारले नायकत्वको अर्कै केन्द्र स्थापित गरेका छन् । र, त्यो नयाँ केन्द्र भनेको साधारण, र तल्लो तप्काको मानिस हो ।
मृगनयनी – हामी, अपाङ्गहरूलाई दयाका दृष्टिले हेर्छौ । सबलाङ्गको दृष्टिकोण वा विश्वदृष्टि उनीहरूमाथि थोपर्छौं, र हामीले जस्तै गरी सोचोस् भन्ने चाहना राख्छौँ । दृष्टिविहीनले कहिल्यै देख्दै नदेखेको कुराको उल्लेख गरेर उनीहरूलाई दुःखी तुल्याउन खोज्छौँ । उनकै मूल्यविधानको पनि संसार हुन्छ, तर हामी त्यो देख्दैनौँ अथवा बुझ्दैनौँ । त्यसैले, दृष्टिविहीनबारे हामीमध्ये अधिकांशको दृष्टि गलत छ । यानि, वास्तविक दृष्टिविहीन हामी हौँ ।

उपहार — समाजलाई ठूलाबडा, सन्त, महात्मा, नेता, मसिहा अथवा सुधारकले मात्रै जोड्दैन । एउटा अबोध बालकले पनि जोड्छ । यद्यपि, त्यो बालकलाई यो कुरा थाहै हुँदैन । ऊ एउटा अन्कन्सस हिरो हो, समाजको ।

आवाजहरू – मान्छेको आवाज जीवनको द्योतक हो । जहाँ आवाज हुँदैन, त्यहाँ जीवन पनि हुँदैन । आवाजबाट भाग्नु भनेको जीवनबाट भाग्नु हो । संसार छोडेर वैराग्यमा लागेकाहरूमा पनि, भिक्षाको बहाना गरेर मान्छेकै आवाज खोजेर घरआँगनमा आइपुग्छन् । त्यसैले, मान्छेको कथा लेख्छु भन्ने लेखकले मान्छेको आवाजबाट भागेर जाने ठाउँ कतै पनि छैन । मान्छेको कथा मान्छेकै भीडमा खोज्नुपर्छ ।

अभिमन्यु – जीवनमा, सफलताको सूत्र सैन्यजीवनमै भेटेको एउटा मान्छे, त्यस जीवनबाट टाढा रहँदा बाँचेको अनुभव गर्दैन । युद्ध वा युद्धअभ्यास उसको अतृप्त चाहना हो । त्यसबाट टाढा ऊ आधा वा एक्लो महसुस गर्दछ । तर, फेरि, त्यसै जीवनको निकट जाँदा बाँचेको अनुभव गर्छ ।

बगर – कुरुप देखिनेहरूभित्र दयाको सागर हुन सक्छ । तर हामी त्यसलाई बुझ्दैनौँ । बालकलाई माया गर्ने वयस्क पुरुषले बालक गुमाएको हुन सक्छ, अथवा सन्तान सुख नपाएको हुन सक्छ । तर यो पनि हामी बुझ्दैनौँ ।

दुई मृत्यु — फगत मेरेर जानु बेकार हो । यसरी त जो पनि मर्छ । तर, कसैलाई बचाएर आफू मार्नु महान कार्य हो । लोभी पापी मान्छे लोभ लोभ भन्दाभन्दै मर्छ । महात्माहरू अरूलाई जीवन दिएर हाँसी हाँसी मर्छन् ।

चौकीभित्र–चौकीबाहिर — प्रेम र वात्सल्यको विधान, कागजको कानुनभन्दा माथि हुन्छ । कागजको कानुन हार्न सक्छ, प्रेमको कानुन कहिल्यै पनि हार्दैन । झुक्दैन ।

डबल पेन्सन – सरकारी पेन्सन पनि खान्छु, सहरको घर भाडामा लगाएर आएको आम्दनी पनि खान्छु भन्नेले अन्त्यमा मलामी पनि पाउँदैन । सहरमा मलामी पनि हुँदैनन् । कथामा, सहरमा मरेको लाशलाई गाउँ लगिन्छ, मलामीको खोजीमा ।

उपलब्धि – सबैसँग दुस्मनी साँधेर सङ्ग्रामले एउटा घर बनायो । सबैको प्यारो बनेर सुशीलले पनि एउटा घरै त बनायो । उपलब्धि एक, तर बाटा विविध । सुशीलसँग समाज रह्यो, तर सङ्ग्राम एक्लो भयो ।

मन्दिर — क्रान्ति गर्नेले मन्दिर भत्काए । तर, आस्ता पालेर बस्ने तिनमा बाआमा मन्दिरबिना बाँच्न सकेनन् । आस्थाका अगाडि राजनीति झुक्छ ।
ओरालो – पहिले पहिले दशैँमा, मैदान झरेका गाउँलेहरू उकालो आउँथे, घर । अचेल दशैँमा घरगाउँ सुनसान हुन्छ । बरु बूढा आमा र गाउँलेहरू नै, छोराका घर, छोरीको घर भन्दै ओरालो झर्छन् । आगमन र पलायनको दिशा नै फेरिएको छ ।

चौतारीको भेट – असन्तुष्टिका कारण, र धेरै पाउने लोभका कारण आफ्नो थातथलो छोड्नेहरू कहिल्यै, कतै पनि स्थायी र सन्तुष्ट हुन सकेनन् । हिँडिरहे । उनीहरूसँग कुनै भविष्य छैन । तर, गरिब भए पनि जो आफ्नै ठाउँमा टिकिरहे, तिनका ओठमा गीत छ । तिनीहरू भविष्य छ ।

राहत — भूकम्पमा मान्छे हरायो भनेर कसैले सरकारबाट राहत लियो । पछि मान्छे भेटियो, राहत फिर्ताको आदेश आयो । हराएको मान्छे खोज्दा खर्च भएको सम्पत्ति, राहतमा पाएको भन्दा कति हो कति गुणा माथि छ । नयाँ उर्दीले पात्र आफैँ पागल भएको छ ।

त्यसपछि निदाइन् बहिनी — भूटानी शरणार्थी समस्यालाई बालबाहिलको केन्द्रबाट हेरिएको छ । कथाको बालिका, ती प्रतिनिधि शरणार्थी बालिका हुन्, निर्वासनका बेला भोकभोकै बाटैमा मरे । कथाकारले बालिकालाई मन्दिरको प्राङ्गणमा मारेका छन् । यसको अर्थ, दुःखमा भगवान्को दरबारमा पनि राहत छैन । भगवानको पनि साथ छैन ।

परिचित अनुहार – छोरो गुमाएको बाबुलाई थाहा छ, उसको छोरो भगवान् नाम गरेको अपरिचितका हातमा छ, काखमा छ । तर, बोलाउँदा पनि आउँदैन । ऊ अर्को लोकमा छ । र, गएको मान्छे, फर्कन पनि चाहँदैन । हजारौँ हजार सांसारिक प्रलोभनले पनि ऊ आउँदैन । यानि, भौतिक जगत त्यागेर गएको मान्छे, मोहमायाको संसारका फेरि फर्कंदैन । ऊ, उतै खुसी छ । तर, संसारमा रहेकोहरूको मत मान्दैन । यही, यो लोक र परलोकबीचको द्वन्द्वको कथा हो यो ।

बूढो रुख र जुरेली — मान्छेले पर्यावरणमाथि गरेका घातले कसरी प्राणी, वनस्पति र पशुपक्षी जगतलाई तहस नहस गरको छ, त्यसको कथा हो । कथाको अन्त्यमा, लोखर्के र जुलेरीको आश्रयस्थल बनेको रुखलाई ‘सिनेमा घरका सिट’, यानि, तुच्छ विलासको सामान बनाउने हेतुले काटिन्छ । यानि, मान्छे, आफ्ना तुच्छ मज्जा, रमाइलो वा विलासका लागि अरू प्राणीहरूको सम्पूर्ण सभ्यता नष्ट गर्न उद्यत रहन्छ ।

र,

त्यसरी नै एक सर्जक आफ्नो कृतिमा हल्काफुल्का नचिप्लिकन बस्न सक्दैन । यो नियम जत्तिकै हो । कोही न कोही, कता न कता चिप्लिहाल्छ । युवाको माझमा देखिने महेश पौड्यालले युवालक्षित कथाहरू भने लेखेका छैनन् । अहिलेको बजारमा बाँस सप्रेकोजस्तो हलक्क सप्रेको प्रेम र यौन साहित्य भने ‘अपरिचित अनुहार’ भित्र चरोमुसो भेटिदैन ।

आधुनिक जमानामा एकाधिकार जमाएको विज्ञान र प्रविधिलाई लेखकले आफ्नो कृतिभित्र टाउको लुकाउने ठाउँसमेत दिएको पाइँदैन । विज्ञान र प्रविधिसँग लेखक ज्यादै कठोर भएको देखिन्छ ।
प्राध्यापक पनि रहेका प्रयोगवाद र पाश्चात्य साहित्य बुझेका र त्रिभुवन विश्वविद्यालयमा यही कुरा पढाइरहेका लेखकको कृतिको स्वरूपमा प्रयोगवाद र पाश्चात्य साहित्य झल्किदैन ।

कथाकार भवानी भिक्षुलाई सर्मपण गरिएको ‘अपरिचित अनुहार’ लाई शुभकामना ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १५:३६   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।