Logo

दम्पतीमाथि सांंघातिक हमला गर्ने २ जना पक्राउ



रौतहटमा एक दम्पतीमाथि सांंघातिक हमला गर्ने कार्यमा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार द्वारा गरिएको अन्धाधुन्द प्रहारबाट देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी दम्पतीमध्ये श्रीमतीको मृत्यु भएको छ ।

घटनामा संलग्न रहेको अभियोगमा रामएकवाल  मुखिया बिन र उनका एकजना आफन्त पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलले जानकारी दिए । यसअघि घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बली मुखिया बिनलाई पक्राउ गरेको थियोे ।

 जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं ५ टिकुलिया बस्ने महेश तिवारी आफ्नै घर अगाडि केही छिमेकीसँग छलफल गरी बसेका बेला एक समूहले धम्की दिएको थियो । धम्कीलगत्तै महेश तिवारीले प्रहरी तथा आफन्त र केही राजनीतिक दलका स्थानीय नेतालाई मोबाइल फोनबाट घटना बारे जानकारी गराएका थिए । त्यसपछि शुक्रवार राति ८ः३० बजेको समयमा फेरि आएको सो  समूहले एक्कासी  तिवारी माथि आक्रमण सुरु गरेका थिए । सो क्रममा तिवारीको श्रीमती जगरानी देवीले उनलाई बचाउन खोज्दा उनीमाथि धारिलो हतियार प्रहार भएर मृत्यु भएको थियो । 

 गम्भीर अवस्थामा रहेको महेशको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले  सांघातिक आक्रमण गर्नेहरु अन्यको  खोजी भइरहेको बताए ।  केही महिना अघि गाउँमा बाटोको विषयलाई लिएर स्थानीय स्तरमा विवाद भएको र सोही विवाद अहिलेको अवस्थासम्म आइपुगेको बताइएको छ।  

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।