Logo

बाली संरक्षण प्रयोगशाला स्थापना



कृषि ज्ञान केन्द्र तनहुँले बाली संरक्षण प्रयोगशाला स्थापना गरेको छ । कृषि बालीमा लाग्ने रोगकिराको सही पहिचान गरी बालीको उचित संरक्षण गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशालाको स्थापनाबाट अब जिल्लामै बालीमा कुन रोग र कुन किराको प्रकोप हो भन्ने परीक्षण हुने केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

केन्द्रको पछाडि दक्षिणपट्टी खाली रहेको करिब छ रोपनी जग्गामा प्रयोगशाला निर्माण गरिएको हो । प्रयोगशाला निर्माणका लागि गत वर्ष गण्डकी प्रदेश सरकारबाट रु.पाँच लाख ५० हजार रकम प्राप्त भएको थियो । यसअघि कृषकले जिल्लामा बालीमा लाग्ने रोगको लक्षणको आधारमा औषधि प्रयोग गर्दै आएकामा अबदेखि यो बाध्यता हटेको छ ।

प्रयोगशालाले जिल्लाका कृषकका लागि शुरुमा रोगकिराको प्रकोप पत्ता लगाई बाली संरक्षण गर्न पहिलो चरणमा किसानको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने योजना रहेको प्रमुख तिवारीले बताउनुभयो । उहाँले प्रयोगशालामा अहिले उन्नत जातका गोलभेडा, काउली र खुर्सानीको परीक्षण गरिरहेको बताउँदै आगामी दिनमा अन्य तरकारी बालीको पनि परीक्षण गर्दै जाने योजना रहेको जानकारी दिनुभयो ।रासस 

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  ८ : ०९ बजे