Logo

अनलाइनपाना खोज

कांग्रेसका सभापति शेरबहादुर देउवाको संक्षिप्त जीवनी



शेरबहादुर देउवा जन्म वि.स. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा भएको हो । उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका छन् । उनले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालेका थिए ।

एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ वि.स. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएका थिए । त्यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय रहे । यसक्रममा उनी विभिन्न समयमा पटक पटक पक्राउ परेका थिए । निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा प्राध्यापकसँग झगडा समेत गरेका थिए ।

नेविसंघमा सक्रिय भएर काम गरिरहेका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भएका थिए । नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिकलाई झन सशक्त रुपमा अगाडि बढाए ।

विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए । त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुगेका ।

जब वि.सं. २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ ग¥यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए । त्यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं आए ।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने । गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी देशको प्रधानमन्त्री बने । राजनीतिको धेरै उतार चढाव खपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएका थिए ।

कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौँ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए । २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए तर त्यस समयमा भने उनले हार व्यहोर्नुप¥यो ।

त्यतिबेला देशमा माओवादी जनयुद्धले पक्कड जमाइसकेको थियो । कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिएका थिए ।

यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बन्नुभयो । सुशील कोइरालालाई हराएर नेता बने । संसदमा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री बने ।

राजनीतिक घटनासँगसँगै विंस २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा र्थि ।

संसद पुनस्थापनापछि गिरिजाप्रसाद पुनः एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए । त्यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए ।

नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भए । त्यसरी नै कांग्रेसको १४ औँ महाधिवेशनमा पाहिलो चरणमा बहुमत नआएर दोस्रो चरणमा पुगेको निर्वाचनमा आफ्ना प्रतिद्धन्धी शेखर कोइरालाई पराजय गदै उनी पुनः नेपाली कांग्रेसको सभापतिमा विजय भए । उनलाई पहिलो चरणबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिहंले सघाएका थिए ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी पटक–पटक गरी नौ वर्ष जेल पसेका छन् ।

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, ट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार ०२:४०   :  बजे

561
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।