पहिलो कुरा, राप्रपाले आफ्नो विधानमा नेपालका मुल रैथाने धर्मसंस्कृतिबारे स्पष्ट नीति अँगालोस् भन्ने शुभेच्छा छ । हिन्दू, बौद्ध, किराँत, बोन, जैन ईत्यादि समुदायका आश्रम, गुरूकुल, धर्मगुरू, साधुसन्त, गौशाला, आयुर्वेद र पञ्चगव्य विज्ञहरूलाई पार्टी नेतृत्वभन्दा माथिल्लो दर्जाको सम्मान दिईने विषय पनि विधानमा उल्लेख गरियोस् ।
यी संस्थाहरू नेपालको गरिमा र मर्यादा हुन् त्यसैले मौलिक दर्शनहरूको अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै लैजानुपर्छ । राप्रपाको नव गठित केन्द्रिय समितिका पदाधिकारीहरूले देशका प्रख्यात तीर्थस्थलहरूको भ्रमण गरोस् । आश्रम, गुरूकुल, गौशाला, धर्मगुरू, साधुसन्त, आयुर्वेद तथा पञ्चगव्य विज्ञहरूसँग भेटघाट र छलफल गर्दै आशिर्वाद लिनु धेरै नै आवश्यक छ ।
गौशालाहरू हाम्रो स्वाधीन अर्थतन्त्रका मेरूदण्ड बन्न सक्छन् । त्यसैले, रैथाने गौहरूको संरक्षण गर्दै गौशालाहरूलाई कृषि, व्यवसाय र चिकित्सासँग जोडौँ ।
सन् २०२१ को नोभेम्बर १९ तारिख शुक्रबारको दिन independent.co.uk ले यौटा समाचार छापेको छ–वेलायतका किसानहरूले गाईको १ किलो गोबरबाट ३.७५ किलोवाट विद्युत्त उत्पादन गरेका छन् ।
BBC.com ले सन् २०२० अक्टोबर १० तारिखमा यौटा रिपोर्ट छाप्यो–नेदरल्याण्ड, स्विट्जरल्याण्ड र अमेरिकामा मानिसहरू गाईको स्पर्श खोजीरहेका छन् । गाईको सामिप्यताले उनीहरूलाई तनावमुक्त हुन मद्दत गरिरहेको छ ।
भारतको हरियाणामा कामधेनु गोधाम र आरोग्य संस्थानले गो स्पर्श चिकित्सा कार्यक्रम सञ्चालनमा ल्याएको छ । अमेरिकामा मानिसहरू गाईसँग एक घण्टा समय विताउन ७५ डलर खर्च गरिरहेका छन् । पञ्चगव्य चिकित्सा गौबाट प्राप्त हुने वस्तुमा केन्द्रित छ । भारतका विभिन्न गौशालाहरूले जैविक खेती तथा स्वास्थ्योपचारको केन्द्र नै गौलाई बनाईसकेका छन् । के हामीले चाह्यौँ भने नेपालमा यी कार्य गर्नै नसकिने हुन् र ?
साथै, हिन्दू, बौद्ध, किराँत, बोन, जैन आश्रमहरू, गुरूकुलहरू, मठमन्दिरगुम्बा समितिहरू, गौशालाहरू, ध्यानयोग केन्द्रहरू, धर्मगुरू र धार्मिक संगठनहरूले पनि धर्मनिरपेक्षतावादी राजनीतिक दलको बुइँ चढ्ने कार्य चटक्कै छाडेर राप्रपालाई खुल्ला समर्थन दिँदै धार्मिक विषयमा बेईमानी गर्न नपाउने खबरदारी गरिरहनुपर्छ ।
अन्यथा, धर्मनिरपेक्षतावादी राजनीतिक दलहरूको झोला बोकेर धर्मसापेक्ष राष्ट्रको चाहना राखेर के उपलब्धी ? भौतिकवादी दलको टाङमुनी पसेर मठमन्दिरगुम्बाहरूको संरक्षण भएन भन्दै रोइलो किन गर्नु ? कसै कसैले भन्ने गर्दछन्–राजनीति र धर्म फरक कुरा हो । राजनीतिमा धर्म मिसाउन पाइँदैन । यो भाषा बोल्ने सबैजसो मानिसहरू धर्मनिरपेक्षतावादी दलको नेता÷कार्यकर्ता÷समर्थक छन् वा धर्मान्तरणको चपेटामा परेकाहरू छन् ।
यी धर्मनिरपेक्षावादीहरूसँग मेरो प्रश्न छ–यो देशमा ५१% ईसाइ पुगेको दिन उनीहरू नेपाललाई ईसाइ राष्ट्र बनाउ भन्दै सडकमा निस्कने छैनन् भन्ने ग्यारेण्टी तपाईँले गर्न सक्नुहुन्छ ? मुस्लिम जनसंख्याको सवालमा पनि धर्मनिरपेक्षताका ठेकेदारहरूसँग मेरो यही सवाल हो ।
माक्र्स, माओ वा लेनिनको नाममा राजनीतिक दल खोलेर राजनीति गरिरहेका मानिसहरूले राजनीतिमा धर्म मिसाउन हुन्न भनेर कुन नैतिकताले बोल्ने ? माक्र्स, माओ वा लेनिन जतिसुकै महान नेता÷दार्शनिक होलान् तर उनीहरूको क्रान्ति÷दर्शन उनीहरूको भुगोल र समाजको विशिष्टताको परिणाम थियो ।
त्यससँग हाम्रो कुनै लेनादेना छैन । त्यो हामीले अँगाल्ने अभ्यास नै थिएन । तर, हामीले त्यो अँगाल्यौँ । धर्मको विषयमा माक्र्सको दृष्टिकोण नै नेपालका कम्युनिष्टहरूको दृष्टिकोण बन्यो, धर्मको विषयमा माओको अभ्यास नै नेपाली कम्युनिष्टहरूको अभ्यास बन्यो र हामी असफल भयौँ ।
तसर्थ विदेशीको दृष्टिकोण र अभ्यास बोकेर नेपाली धर्मसंस्कृतिमाथि प्रहार गर्नेहरूले राजनीतिमा धर्म नमिसाउँ भन्न मिल्छ ? कुन नैतिकताले यस्तो कुरा बोलेको ?
नेपाली काङ्ग्रेसभित्र धर्मसापेक्ष राष्ट्रको वकालत गर्ने नेताहरू महाधिवेशनबाट नराम्रोसँग पराजीत हुन पुगेका छन् । यसर्थ, नेपाली कांग्रेस अब पनि धर्मनिरपेक्षता कै बाटोमा अगाडी बढिरहनेछ । भोट ब्याङ्क जोगाउने स्वार्थका लागि नेताहरू धर्म सापेक्षताको वकालत गर्नसक्छन् तर जुन कुरा विधानमा लेखिएको छैन, त्यो कुरा सभापति शेरबहादुर देउवाले नै बोल्नुभयो भने पनि पार्टीको आधिकारिक धारणा मानिँदैन ।
काङ्ग्रेस–कम्युनिष्ट–समाजवादीहरूको विधानमा धर्मनिरपेक्षता छ । प्रशिक्षणहरूमा धर्मनिरपेक्षता छ । नेताहरूका अभिव्यक्ति र सामाजिक क्रियाकलापहरूमा धर्मनिरपेक्षता छ । त्यसकारण, धर्म सापेक्षताका पक्षधरहरूले काङ्ग्रेस–कम्युनिष्ट–समाजवादीमा टाँसिनुको तुक छैन ।
दोस्रो कुरा, राप्रपा बाहेक सबै प्रभावशाली पार्टीहरूमा पुरानै नेतृत्व छ । ती सबै अनुहारहरू प्रधानमन्त्री खाईसकेका र असफल भईसकेका हुन् । ती सबै अनुहारहरूलाई भ्रष्टाचार, नातावाद, कृपावाद, राष्ट्रघात, दलालीको आरोप छ ।
राप्रपाको नयाँ नेतृत्व यी सबै दोषबाट मुक्त छ । पुरानो नेतृत्वसँग आजित मानिसहरूले राप्रपाको नयाँ नेतृत्वलाई सकार्न गाह्रो किन मान्ने ? एमसीसी चाहिँदैन भन्दै हिँडेको काङ्ग्रेस वा कम्युनिष्ट वा समाजवादी पार्टीको नेता कार्यकर्ताले शेर बहादुर देउवा, प्रचण्ड, केपी ओली, माधव नेपाल, बाबुराम भट्टराईलाई नै नेता मान्ने वा एमसीसी चाहिँदैन भनी प्रष्ट भाषा बोलेको राप्रपाको नेतृत्वलाई नेता मान्ने त ?
राजनीतिक दलमा नयाँ अनुहार स्थापित भएन भन्दै चिन्तित मानिसहरूले अब पनि पुरानै अनुहारहरूभित्र आफ्ना भविष्यका आशाहरू खोज्ने ? वा राप्रपाको नयाँ अनुहारलाई एक मौका दिन राजनीतिक घेरा तोडेर बाहिर निस्किने ?






















प्रतिक्रिया