काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण फैलीयसँगै नेपालमा पनि जोखिम बढेको छ । नेपाल-भारत सिमानामा खुला नाका भएकोले खतरा नजिक आएकोले सावधानी अपनाउन पर्ने देखिएको छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो ।
जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् । छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने बताइएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सकेसम्म आजै, नसके भोलि संयुक्त बैठक बस्न सक्ने बताइन् ।
संयुक्त बैठक बस्नुअघि आज आफूले जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको उनले जानकारी दिइन् । त्यसका लागि आज दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो । यद्यपि उक्त बैठकका निर्णय सार्वजनिक भएका छैनन् । बैठकपछि स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म कुनै नयाँ निर्णय वा निर्देशन जारी गरेका छैनन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि कोरोना संक्रमणको अवस्था र खोप कार्यक्रमलाई लक्षित गरी आज दिउँसो साढे २ बजे बैठक बोलाएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने उपत्यकाका प्रजिअहरुको संयुक्त बैठकको मिति र समय तय नभइसकेको बताए । छिटै बैठक बसेर आवश्यक निर्णय लिन पर्ने उनको भनाई छ ।
पछिल्लो समय शीर्ष नेताहरूलाई कोरोना संक्रमण देखाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड), नेता नारायन काजी श्रेष्ठ र अन्य नेताहरुलाई पनि कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य मन्त्री तथा नेताहरूको पनि आज कोरोना संक्रमण परिक्षण गरिने भएको छ । राजनीतिक दलहरूको महाधिवेशनले कोरोना संक्रमण फैलिएको विज्ञहरूको अनुमान छ ।
नेपालमा शनिबार एकै दिन ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० पुगेको छ ।
छिमेकी राष्ट्र भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । भारतमा संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।




















प्रतिक्रिया