Logo

अन्तरवार्ता

नगर र नागरिकलाई केन्द्रमा राखेर काम गरेका छौँ : हिराबहादुर खत्री [अन्तर्वार्ता]



स्थानीय सरकारको कार्यकाल अन्तिम चरणमा आइपुगेको छ । नेपालमा रहेका ७ सय ५३ वटा पालिकाहरू मध्य कतिपय पालिकाहरूले जनतालाई प्रत्यक्ष लाभहुने कामहरू गरेर विकासमा लामो फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केही पालिकाहरू भने भौगोलिक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसाबले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथास्थितिमा छन् ।

पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारबाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ । यसै सन्दर्भमा रुपन्देही जिल्लाको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीसँग नगरपालिकामा यो कार्यकालमा भएका कामहरूको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :

देवदह नगरपालिकामा विकासको क्रम कसरी अगाडि बढेको छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछिको हामी पहिलो स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि हौं । हामीले निति निर्माण गर्ने, पालिकाको आवश्यक्ताको पहिचान गर्ने, सेवालाई सहज बनाउने काममा नै महत्व दिएका छौं । हामीले शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार विकासको क्षत्रमा काम अगाडि बढाएका छौँ । नगरपालिकाको भवन निर्माण गरेर सेवा प्रवाह गरिरहेका छौँ । हाम्रो नगरपालिकामा १२ वटा वडा छन् । सबै वडाहरूको वडा कार्यलय भवन यो वर्ष सम्पन्न गर्दैछौं । सबै वडाहरूमा आधारभूत स्वास्थ्य चौकीहरू निर्माणधीन छन् । १५ शैयाको नगर अस्पताल बनाउदै छौं ।

कृषिलाई अगाडि बढाउने उदेश्यले स—साना मसिना कामहरू अगाडि बढाएका छौँ । उत्पादनमा वृद्धि गर्न पनि विभिन्न काम गरेका छौं । अनुदानका कार्यक्रमहरू लगायतका कार्यक्रमहरू बढाएका छौँ । महिलाहरूको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम, निशुल्क मोतियाविन्दुको अप्रेसन गरेका छौं । शिक्षामा हामीले स्मार्ट एजुकेशनलाई अगाडि बढाएका छौं । प्रविधिसहितको पठनपाठन भएका छन् । शिक्षकहरूलाई पनि तालिमहरू प्रदान गरेका छौँ । साना बालबालिकाहरूलाई सबै विद्यालयमा खाजाको प्रबन्ध गरेका छौँ । यसरी हामीले आधारभूत विषयलाई महत्व दिएका छौं । त्यसैगरी यहाँका सडकहरू, पुल, कुलेसाहरू, खानेपानी र सिचाइँका कुराहरूलाई पनि अगाडि बढाएका छौं ।

यो कार्यकालमा देवदह नगरपालिकाका सर्वहारा वर्गलाई कस्तो कार्यक्रममार्फत समेट्नुभयो ?

सर्वहारा वर्गलाई लक्षित गरेर हामीले गर्नसक्ने कुरामा सेवा गरेका छौँ । स्वास्थ्य वीमा गर्दा हामीले गरिबहरूलाई निःशुल्क वीमा गराएका छौँ । समुहमा कुखुराको चल्ला वितरण गर्ने, बाख्रा वितरण गर्ने, तरकारी र अन्न लगायतका किसानहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा पनि नगरपालिकाले धेरै महत्व दिएको छ । यसरी हामीले विपन्न वर्गलाई आर्जन गर्न सक्कने बनाएका छौँ । विभिन्न किसिमका सिपमुलक तालिमहरू सिकाएर व्यवसायमा जोड्ने काम गरेका छौँ ।

हामीले अभ्यास गरिरहेको यो संघीयता उपयुक्त छ ?

संघीयताको विषयमा टिक भयो कि भएन भनेर निष्कर्ष निकाल्ने समय भैसकेको छैन् । कामको बाँडफाँड, शक्तीको बाँडफाँड अझै स्पष्ट भएको छैन् । स्थानीय तहको निर्वाचन भयो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रको सरकार बनेपछि संविधानलाई कार्यन्वयन गर्न लागि पर्न पथ्र्यो । तर यस अगाडिको केपी शर्मा ओली नेतृत्वको सरकारले त्यो गर्न सकेन । त्यसकारण अहिले जनतामा धेरै विवादहरू उत्पन्न भएका छन् । पछिल्लो समय तिनै तहको सरकारमा एकले अर्कालाई काम छैन भनेर आरोप लगाउने प्रक्रिया बढेको छ । यसरी अगाडि बढ्दा देशलाई राम्रो हुँदैन् । अहिले संविधानलाई पूर्ण कार्यन्वयन गर्ने, संविधानले दिएको अधिाकारको आधारमा काम गर्न जरुरी छ । कर्मचारी समायोजन अझै भैसकेका छैनन् । यसलाई छिटै टुङ्गयाउन पर्छ ।

अहिले स्थानीय सरकारले पाँच लाख हालेर काम गरिरहेका ठाउँमा प्रदेश सरकारले दश लाख हाल्ने, संघले आएर २० लाख हाल्ने यस्तो प्रवृत्ति भैरहेको छ । यो कारणले पनि संघीयता खराब भयो भन्ने प्रतिक्रिया आइरहेको छ । शक्ती संघर्षको सुरूवात भएको छ । यसको अत्य हुन पर्छ । यो व्यवस्थाको असल अभ्यासमा जान पर्छ । संविधानले भनेका कुराहरू र अधिकारहरूमा खिचातानी भएको छ । यसमा समाधान गर्न पर्छ । कुनै कुनै स्थानीय सरकारले राम्रो काम गर्न नसके पनि धेरैले राम्रो काम गरेका छन् । स्थानिय तहमा अनियमितता, भ्रष्टचार गर्नेहरूलाई कडा कारबाही गरेर कामगर्ने वातावरण सृजना गरेर अगाडि जान पर्छ ।

स्थानीय तहहरूमा पारदर्शिता भएन, विकासको बहानामा भ्रष्टचार भएको छ । यसमा तपाईँको धारणा के छ ?

जुन जुन ठाउँमा भ्रष्टचार भएको छ । त्यहाँ छानमिन गरेर कारवाही गर्न पर्छ । एक दुई स्थानमा भ्रष्टचार भयो भनेर व्यवस्थालाई नै दोष दिन मिल्दैन । पछिल्लो समय राजनीतिप्रति मानिसको वितृष्णा बढेकोले पनि यस्तो भनिएको हो । स्थानीय तहले एकल अधिकारको कार्यनयन गर्ने, कानुनको निर्माण गर्ने र त्यही अनुसार बनेट बनाउने गर्दा भ्रष्टचार कम हुन्छ । विकासको काम मात्र गरेर, लोकतन्त्रको, संघीय लोकतान्त्रिक गणतन्त्रको र स्थानीय सरकारको कामको अनूभती जनतालाई दिन सकिँदैन् ।

शिक्षामा, आयआर्जनमा, कर्मचारी समायोजनमा पनि राम्रो व्यवस्था गर्न सक्न पर्छ । अहिले कोरोना नियन्त्रणमा मात्र होइन आम नागरिकको हरेक समस्यामा जनप्रतिनिधि पुगेको छ । केहीले गलत काम पनि गरेका छन् । त्यसैले गल्ती गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने गर्न जरुरी छ ।

तपाईँले जनतासँग गरेको प्रतिवद्धता कति पुरा गर्नुभयो ? यो कार्यकालबाट सन्तुष्ट हुनुहुन्छ ?

मैले जनतासँग भोट माग्दै गर्दा गरेको प्रतिवद्धता अनुसार नै काम गरेको छ । मैले जनताको सेवा र नगरको विकासमा इमानदारीता पुर्वक सकृय भएर लाग्ने छु भनेको थिएँ । त्यो मैले पुरा गरेँ । यो प्रतिवद्धता मेरो जीवन रहेसम्म कायम राख्ने छु । कुनै पनि आग्रह पुर्वाग्रह राख्ने छैन् । कसैलाई काख र पाखा गर्ने छैन् । अर्को समृद्धि र विकासको कुरा कहिले पनि पुरा हुँदैन, यो निरन्तर चल्ने प्रक्रिया हो । सही तरिकाले विकास गर्न तिनै तहको सरकारको आवश्यक्ता छ ।

यो कार्यकालमा देवदह नगरपालिकालाई संघ सरकार र प्रदेश सरकारबाट कति साथ सहयोग प्रप्त भयो ?

साथ सहयोग गरेनन् भनेर आलोचना गर्दा नराम्रो होला । म यस्तो आरोप लगाउन चाहान्न् । मुख्य कुरा यो व्यवस्थालाई अगाडि बढाउन नागरिकको आस्थालाई बलियो बनाउन केन्द्रको अघिल्लो सरकारले सकेन । यसले गर्दा संघीयता लोकतान्त्रिक गणतन्त्र विरूद्ध सडकमा आवाज उठ्न थालेको छ । यो हाम्रो लागि सोचनीय कुरा हो ।

संघीय सरकारले हामीलाई दिन पर्ने बजेट पनि दिन सकेन कोरोनाको कारणले । हामीले पनि चाहेको जति काम गर्न नसकेको हो । संघ र प्रदेश सरकारले स्थानीय जनताको आवश्यक्ता भन्दा बाहिर गएर योजना बनाउने गरेको छ । संसदको पकेटबाट बजेट आउछ । त्यसरी आउने बजेटले स्थानीय तहको प्रथामिकतामा भएको योजनामा पर्न पर्छ । यसरी स्थानीय, प्रदेश र संघीय सरकार बिचको सहकार्यमा राम्रो समन्वय भएर काम गर्न जरुरी छ ।

देवदह नगरपालिका र नागरिक बिचको सम्बन्ध कस्तो छ ?

सुरूदेखि नै हामी नागरिकको बिचमा छौँ । नागरिकको समस्या समाधान गर्न प्रयत्न गरेकै छौँ । हामीले नगरभन्दा बाहिर धेरै बस्दैनौँँ । प्रत्येक समय नागरिकसँगै छौं । नगरपालिकाले बनाउने योजनामा नागरिक सल्लाह लिने गरेका छौँ । यसरी हामी जनप्रतिनिधि र जनताबिचको सम्बनध राम्रो छ ।

अब नगरपालिकामा नयाँ आउने जनप्रतिनिधिहरूलाई कसरी विकास गर्न सल्लाह दिनुहुन्छ ?

हामीले अन्यौल्ता भएको र आवश्यक धेरै कानुन कार्यविधिहरू बनिसकेका छन् । त्यसलाई कार्यान्वयन गर्ने । स्थानीय जनताको माग र समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गर्छु । यहाँको सम्भावनालाई पहिचान गरेर अगाडि बढ्ने हो । हामीले पनि नगर र नगरवासीलाई केन्द्रमा राखेर काम गरेका हौँ । अब आउनेहरूलाई पनि त्यसै गर्न सल्लाह दिन्छु ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १ : २४ बजे