Logo

स्वास्थ्य

दुर्गमका गाउँबस्तीमा स्टेचरकै भरमा बिरामी



काठमाडौं। देशभर दुर्गमका अधिकांश गाउँबस्तीमा मानिस बिरामी पर्दा अहिले सम्म पनि स्टेचरकै भरमा पर्नु परेको छ । हरेक बस्तीमा हालसम्म सडक सञ्जाल जोडिन नसक्दा बिरामीलाई स्टेचर र मानिसले बोक्नुपर्ने बाध्यता भएको हो ।

गाउँमा मानिस बिरामी पर्दा डेढ घण्टा भन्दा बढी स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा लिनुपर्ने अवस्था रहेको हुम्लाको सर्केगार्ड गाउँपालिका–३ को उनपानी गाउँका स्थानीय जयबहादुर महताराले बताए । गाउँमा स्टेचर पनि बढी नहुने भएको कारण धेरै जना एकसाथ बिरामी हुँदा मानिस मिलेर बिरामी बोक्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । कहीलेकाँही त गाउँमा भएका बिरामीलाई १४–१५ घण्टा सम्म स्टेचरमा बोकेर अस्पताल लग्नु परेको दुर्गामका सर्वसाधरणको गुनासो सरहेको छ ।

सो गाउँपालिका–१ को जैर गाउँबाट बिरामीलाई एक दिन लगाएर गाउँपालिका केन्द्र सर्केगार्डमा रहेको स्वास्थ्य चौकीमा ल्याउनुपरेको उनले बताए । यता चंखेली गाउँपालिका– ३ मिमी गाउँका धनलाल चौलागाईं तीन घण्टा समय लगाएर स्टेचरमा बोकेर बिरामी स्वास्थ्य चौकीमा लग्नुपरेको बताए । सो गाउँमा सडक निर्माण भएको भए पनि लोती कर्णालीमा पुल नबन्नु र गाउँपालिका भरि एम्बुलेन्स नभएको कारण बिरामीलाई स्टेचरमा बोक्नुको अन्य बिकल्प नभएको बताए ।

यो समस्या हुम्लाका यी दुई गाउँपालिकाको मात्र नभएर देशभरका सबै स्थानीयतहहरुको उस्तै छ । सडक सञ्जाल नजोडिएको कारण गाउँबाट बिरामी ल्याउन स्टेचर भरपर्दो साधन भएको स्वास्थ्यकमीहरु बताउँछन् । यसरी बिरामी बोक्ने कार्य गाउँमा मात्र नभएर जिल्ला सदरमुकाममा रहेका अस्पतालमा समेत गाउँबाट बिरामी बोकेर ल्याउने कार्य भइरहेको देखिन्छ ।

गाउँपालिका र विभिन्न गैससबाट स्टेचर सहयोग गाउँगाउँमा पुगेको कारण बिरामी बोक्न भने सहज भएको सर्वसाधरणको भनाइ छ । यसरी बिरामीलाई नजिकबाट स्टेचरमा बोक्न सजिलै भए पनि टाढाबाट बोकेर ल्याउन भने समस्या हुने गरेको पीडित पक्षको गुनासो छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।