काठमाण्डाैँ । नगर विकास काेषले नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर्दै आएको छ भने अब काठमाडौमा पनि बहुतले मेकानिकल पार्किङमा लगानी गर्न काेषले प्रस्ताव आव्हान गरेको छ ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाका अनुसार उपत्यकामा हुने अव्यवस्थित पार्किङलाई सहज व्यवस्थापन गर्न यो योजना ल्याइएको हाे।
उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिकाभित्र कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । आयोेजना निर्माण गर्न ईच्छुक स्थानीय तह, सरकारी तथा गैर–सरकारी संस्थाहरुले १५ दिनभित्र आवश्यक कागजातसहित विकास कोषको कार्यलयमा पेश गर्नुपर्ने कार्यलयले जनाएको छ ।
कोषले यही माघ ७ गते सूचना प्रकाशित गरेको हो । काठमाडौंका थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खुलगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।
प्रस्ताव पेश गर्नका लागि आवश्यक पर्ने जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघसंस्थाको नवीकरणसहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।





















प्रतिक्रिया