Logo

विचार / ब्लग

राजश्व र देवश्वको दोहन



मानवताको पारो दिनप्रतिदिन ओरालो लाग्दो छ । दया, माया, प्रेमका धागाहरु चुँडिने प्रतिस्पर्धा चलेको छ । बाबु आमाले छोडेको एउटा निर्धो बालक, थला परेका बृद्ध बाआमा, साहुले रित्याएको परिवार, बृद्धाश्रममा मृत्यु पर्खिरहेका अभिभावकप्रति सामाजिक सञ्जालमा व्यक्त प्रेमले मात्र सामाजिक रथ चल्दैन । न कसैको विकराल अवस्था सुधार्न दिएको सुका मोहोरले उसको जीवन कायाकल्प हुन्छ । प्रेम भनेको संस्कृति हो । यो कुवाको पानी जस्तै हो । न प्रेम गरेर सकिन्छ, न कुवाको पानी रित्याएर रितिन्छ । कोभिड त निहुँ मात्र हो । एउटा नागरिक भएर देशप्रति, सन्तान भएर अभिभावकप्रति, नेता भएर जनताप्रति, पुजारी भएर भगवानप्रति, डाक्टर भएर रोगीप्रति कति इमान्दार छौं ? आजको यक्ष प्रश्न नै यही हो । पेशा एउटा शोख अर्को नेपालका हरेक तह र तप्कालाई यो रोगले गाँजेको छ । अझ राजनीति त चेसको मन्त्रीजस्तै भएको छ । औकात पुगेकाले त जे भने पनि, जे गरे पनि कानुन हुने । बरु पढेका विज्ञहरु पटमूर्खका तिनै कुतर्कलाई तर्क सावित गर्न रफ्फू भर्ने अभ्यासमा नौ नारी गलाउन तयार हुन्छन् । 

कसैको मृत्यु चराको प्वाँखजस्तो सस्तो हुनु हुँदैन । राजनेता भएको मुलुकमा जनता अमूल्य हुन्छन । जनता जोगाउन त्यो नेता जस्तोसुकै जोखिम मोल्न तयार हुन्छ । अहिले हाम्रो देशको राजनीतिमा माक्र्स लेनिन मान्नेहरुको बाहुल्य छ । तिनै लेनिन थिए, जसले जनताले चिनी हालेको चिया नखाएसम्म आफूले पनि खल्लो चिया खाने प्रतिज्ञा गरे । त्यतिमात्र होइन, प्रत्येक जनताको हातमा रोटी सुरक्षित नभएसम्म केक काट्न प्रतिबन्ध लगाए ।

विश्वविख्यात दार्शनिक माक्र्सकी छोरी जेनी पैसाको अभावमा उपचार नपाएर मृत्युवरण गर्न पुगिन । माओ त झन् जनताबाट धागो पनि लिनु हुँदैन भन्ने आदर्शका पक्षपाती थिए । माओत्सेतुङका २८ वर्षीय छोराले सन् १९५० मा उत्तरकोरियासंगको युद्धमा सहादत प्राप्त गरेका थिए । नेपालमा शहीद को  हुन्छ ? जेलनेल कसले भोग्छ ? आन्दोलनका नाममा हुलदुंगा हुँदा अंगभंग कसको हुन्छ ? राजनीतिक परिवर्तन भएपछि सत्ताको चुलोचौकोमा को पुग्छ ? परिवर्तनको दौडमा खुट्टा हुन नसकेकाहरु पाकेको फल खान छाती भएर मान सम्मानको अग्रमोर्चामा कसरी पुग्छन ? नेपालको राजनीतिमा बुझिनसक्नुको पहेली नै यही हो । कारवाही शिफारिस गर्न आयोग बनाइन्छ तर त्यही आयोग दण्डका लागि शिफारिस गरिनेहरु पुरष्कृत भइसकेका हुन्छन ।

आयोगले कारवाही शिफारिस गरेका नेताहरुको समीकरणमा सरकार बनिसकेको हुन्छ । सरकार दायित्व नभएर मनोरञ्जनको साधन हुने परम्पराको अन्त्य भएन । भूकम्प जान्छ , जनताको घरबास उठ्छ । सरकारका मान्छेको व्यापार बढ्छ । कोभिडले उपचार नपाएर जनताको प्राण पखेरु उठ्छ , सरकारका मुखियाहरुको ठेक्कापट्टा मौलाउँछ । जनता स्वाहा भएपछि औषधी आएको खबर आउँछ । घर खरानी भएपछि दमकल किन्न टिप्पणी उठाउने खरदारको सनातनी शैलीमा एक ईन्च फरक आएको छैन् । 

पार्टी फुटमा कोभिड देखिएन । नेताहरुको सत्ताको माथापच्चीमा लाखौं मानिस ओसार्दा कोभिड बसाईं गयो । प्रधानमन्त्री केपी ओलीलाई देवत्व गर्न आयोजना गरिएका गुटगत भेलामा पस्ने आँट कठै, कोभिडलाई कसरी आओस ? धरहरादेखि तरहरासम्म ओलीका नाममा भेला भएर भजनमण्डलीले अखण्ड आरती लाइरह्यो । ओली मात्र हैन, उनका चेलाचपेटा, चण्डमुण्ड, द्वारे, ढोके, चम्चे हैसियत अनुसार यही पदमार्ग सवार भइरहे । जब कोभिडले आफ्नो हैसियत देखाउन शुरु गर्यो, ती खलपात्रहरु हिउँदमा सर्प लुकेजस्तै बिलाए । डाक्टरहरुले हात उठाएको तिनीहरुले देखेनन । अस्पताल नै नदेखी मानिस मर्नुपरेको दृश्यले तिनीहरुको मन काँपेन ।

अस्पताल पुगेर डाक्टरको अनुहारै नदेखी सास फेर्न नसकेर तड्पिएर मरेका रोगीका आर्तनाद श्रवणयोग्य भएन । एउटा बचाउन अर्काको मृत्यु कुर्नुपर्ने विभिषिकाको क्षण मन पोलेन । आखिर जनताका नाममा तिनीहरुले बिताएको ६ दशकको राजनीतिक इतिहास समयको बर्बादी हो । यिनै जनताको अभिमतले तिनीहरु त्यो हैसियतमा सवार भएका हुन । वक्तव्य निकालेर समस्या समाधान हुने भएको भए राजनीतिक परिवर्तन किन गर्नुपथ्र्यो ? लोकतन्त्र, गणतन्त्रका लागि बलिदान किन दिनुपथ्र्यो ?

नेपालमा नमागेको अर्ती र धम्की दिनेहरुको ठूलो जमात छ । आखिर त्यो धम्कीको असली हकदार जनता हुन पुग्छन् । देश निष्प्राण भएर सुतेको छ । मजदूरका हातपाउ बाँधिएका छन् । सम्पूर्ण ठप्प भएका बेला बजार भाउ छोइनसक्नु भएर उचालिएको छ । विना कुनै आधार खाद्यसामग्रीको मूल्य किन बढाइयो ? यस्तो प्रतिकूल समयमा चरम अपराध गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन ? नेतृत्व इमान्दार भइदिएको भए यो आँट कसले गथ्र्यो ? पहिला पहिलाको आदर्श राजनीतिले भन्थ्यो– राजश्व र देवश्व मास्नु महापाप हो । अहिले राजश्व र देवश्व मास्नेहरु नै राजनीतिभित्रका ‘हटकेक सेलिब्रेटी’ भएका छन् ।  

निरासा रोपेर आशा भर्न सकिदैन । दुखले दुख आर्जन गर्छ । हाँदा संगै हाँस्ने भेटिन्छन तर रुँदा एक्लै फगत एक्लै परिन्छ । उदास समयमा आशा भर्ने हो । अरु बेला अशक्त भएको राजनीति यतिबेला सशक्त हुनुपर्छ । व्यक्ति विशेष नेता असफल होलान, राजनीति असफल हुँदैन । नेपालमा ओली, देउवा, दाहाल, नेपाल, खनाल थर जोडिएका पात्र असफल हुने हुन । ढुक्क भए हुन्छ– नेपाल असफल हुँदैन । पात्र आउने जाने क्रम चलिरहन्छ । यो पुस्ता नै नेपाली राजनीतिक रंगमञ्चको पहिलो र अन्तिम पुस्ता होइन । इतिहास सर्वाधिक ठूलो शिक्षक हो । इतिहासलाई शिरमा राख्ने, वर्तमानमा सत्कर्म गर्ने हो भने भविष्य स्वत उज्यालो बन्छ । बाँचेर मर्ने कि मरेर बाँच्ने नेताहरुले एउटा मृत्यु रोज्न जरुरी छ । राजनीतिलाई प्राइभेट लिमिटेड बनाएर जिन्दगीभर आफूलाई म्यानेजर घोषित गर्ने अपराधको यो श्रृंखला बन्द गर्न गरौं । हैन भने यो कलियुग हो । कलिमा कर्मको फल हातहातै पातपातै देखिन्छ । राजकूलमा जन्मिएका राजा ज्ञानेन्द्रको हालत त त्यो अवस्थामा छ भने कथित पाङ्दुरे नेताको त के हिसाव भो र !

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार १५:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।