Logo

अर्थ

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको ३४१औं बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

कम्पनीले लाभांश प्रस्ताव अनुमोदनसहितका विभिन्न एजेन्डामाथि छलफल गर्न असोज १९ गते ३५औं वार्षिक साधारणसभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव छ।

त्यस्तै, नेपाल ल्युब आयलका सहायक कम्पनी एनएलओएल इनर्जी र एनएलओएल सिनर्जीसहितको एकीकृत वित्तीय विवरण पनि साधारणसभाबाट पारित गरिनेछ।

सभामा सञ्चालक समिति पुनर्गठन अनुमोदन गर्ने प्रस्तावसमेत पेस हुनेछ। अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी सञ्चालकको पारिश्रमिक र सुविधासम्बन्धी प्रस्तावमाथि पनि छलफल हुने कम्पनीले जनाएको छ।

विशेष प्रस्तावअन्तर्गत प्रस्तावित बोनस सेयर तथा यसअघि स्वीकृत १ः२ अनुपातको हकप्रद सेयर निष्कासनबाट वृद्धि हुने पुँजीलाई व्यवसाय विस्तारमा परिचालन गर्ने प्रस्ताव गरिएको छ। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाइसकेको छ।

बोनस तथा हकप्रद सेयर निष्कासनपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ। बुक क्लोज हुनुअघि कायम सेयरधनीले साधारणसभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।

 

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार ०९:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।