जाजरकोट। लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ ठूलो संख्यामा कलमी गरेका सुन्तलाका बिरुवा नष्ट भएका छन्। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो।
दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले जानकारी दिए। दुई प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ।
“केही दिन अगाडि दैनिक रु एक हजार २०० ज्याला दिएर सुन्तलाका बिरुवामा कलमी गरेका थियौँ, दुई दिनसम्मको हिमपातले प्लाष्टिकका टनेल थचारिएर सबै बिरुवा नष्ट भएका छन्”, मल्लले भने, “हिमपातले हाम्रो जेवी कृषि फार्म उद्योगमा रहेका ६० देखि ७० हजारसम्म बिरुवा नष्ट गरेको छ, हरिबहादुर थापा प्रोपराइटर रहेको बाटापाखा हार्बिष्ट कृषि फार्मका ५० देखि ६० हजार बिरुवा नष्ट भएका छन्, वीरबहादुर खड्का प्रोपराइटर रहेको प्रगतिशील नर्सरी उद्योगका ४० देखि ५० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएका छन्।” रासस





















प्रतिक्रिया