Logo

उदयपुरमा गोल्छा अर्गनाईजेशनको दादागिरी, वस्ती नै जोखिममा हुँदा सरोकारवाला निकाय मुकदर्शक (भिडियो सहित)



उदयपुरको कटारी नगरपालिकादेखि १४ किलोमिटर पार गरेपछि साविकको लिम्पाटार गाविस ९ र हालको कटारी नगरपालिकाकै वडा नं. ८ को सिरिसे पुगिन्छ । यो ठाउँ नगरपालिका भित्रै पर्ने भएता पनि यहाँका बासिन्दाहरुले नगरपालिका वासी भएको अनुभूति गर्न पाएका छैनन् । बरु पछिल्लो ४ वर्षदेखि गोल्छा अर्गनाईजेशनले आफ्नो उत्पादन रहेको सौर्य सिमेन्टको लागी ढुङ्गा खानी बनाएकोले कति बेला खानीबाट ढुङ्गा उछिटिएर छानोमा वा टाउकोमा बजारिने हो भन्ने त्रास थपिएको छ । दैनिक रुपमा डाँडामा ढुङ्गा उत्खनन् गर्ने गरिएपछि यस क्षेत्रका बासिन्दाहरुमा त्रास बढेको हो ।

कटारी ४ बाट सिरिसेसम्म १४ किलोमिटर दुरी भित्रमा रहेको जंगल समेत व्यापक रुपमा फडानी गरी प्राकृतिक सौन्दर्यको नै बिनाश गरिएको छ । अचम्म त के छ भने उक्त क्षेत्रको सामुदयिक बन फडानी गर्दा कुनै कानुनी प्रकृया पुरा नगरिएको पाईएको छ । चार वटा सामुदायिक बनको लाखौं रुख काट्दा कुनै बोल कबोल बिना काटिएको छ । जसले गर्दा गाउँलेहरुमा पहिरो जोखिम समेत उतिकै रहेको छ । यसले पनि गाउँलेहरुमा झन् त्रास थपेको छ । 

खानीबाट बगेको ढुङ्गा र गेगर मिश्रित पद्धार्थले गर्दा स्थानीयवासीहरुको खेतबारीमा अन्न उब्जनी हुन छोडेको छ । जसले गर्दा स्थानीवासीहरुमा भोकमरीको चिन्ता पनि उत्तिकै छ । खेतवारी र खोल्सा खाल्सी घाँस समेत उत्पादन नहुँदा स्थानीयवासीहरुले पशुपालन गर्न पनि नसक्ने अवस्था एकातिर छ भने खानीबाट फैलिएको धुवाँ धुलोले गर्दा वातावरणीय वहावमा पनि व्यापक असर पारिरहेको छ । खानीको ठ्याक्कै सिधा तल रहेको वस्तीमा कतिबेला के हुन्छ देख्ने जो सुकैको पनि मुटु सिरिङ हुन्छ । 

समुदायसँग जोडिएका धार्मिक आस्थाका मठ, मन्दिर र देवालयहरु भत्काईएको छ । अनौठो त के पनि छ भने मठ मन्दिर भएको जमिन सार्वजनिक हुनु पर्नेमा व्यक्तिगत जसरी बिस्थापन गरिएको छ । 
एउटा निजी कम्पनीले स्थानीयवासी त्राहीमाम बनाई रहँदा र सार्वजनिक तथा प्राकृतिक सम्पतिमाथी ठाडो अतिक्रमण गर्दा सम्बन्धित निकाय भने कानमा तेल हाले झैं अवस्थामा बसेको छ । स्थानीय, प्रदेश वा केन्द्र सरकार कसैले पनि यस ठाउँका स्थानीयवासीको भोली हुन सक्ने क्षतिको बारेमा अनुमान समेत लगाएको छैन । जसले गर्दा एकपछि अर्को क्षति पुर्याउँन गोल्छा अर्गनाईजेशनको मनोबल बढाई रहेको छ ।

स्थानीयवासीहरुमा थप त्रास थप्न बल पुर्याई रहेको छ । बाटो खन्ने क्रममा ढालिएका कतिपय रुखहरु त्यतिकै जमनिमुनि पुरिएकोले ती रुखहरु कुहिएपछि हुनसक्ने जमिनको हविगत कसैले अनुमान लगाएका छैनन् । 

यस सम्बन्धमा गोल्छा अर्गनाईजेशनको तर्फबाट खानी व्यवस्थापनमा रहेका सरोज कुमार श्रीवास्तवसँग प्रतिक्रिया माग्दा खानीबाट स्थानीयहरु जोखिममा नरहेको दाबी गरे । कसैलाई अफ्ठेरो भए कम्पनीले सुरक्षा दिने श्रीवास्तवको भनाई रहेको छ ।

मठ मन्दिर भत्काईएको बारेमा श्रीवास्तवले भत्काईको नभई ठाउँ सारिएको बताए भने स्थानीइहरुको सहमतिमा केही रुख काटिएको बताए । हिउँद महिनामा बाटोले छोएको भूभाग पुरै धुलाम्मे हुने गरेको भन्ने स्थानीयवासीको गुनासो रहेको छ नि भनी प्रश्न गर्दा पहिले ठेकेदारहरुको बदमासीले गर्दा पानी छ्याप्न नपाईएको भन्दै पन्छिए । 
 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ४३ बजे