काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार सुजित कुमार श्रेष्ठ यतिबेला प्रतिनिधिहरूमाझ चर्चाको केन्द्रमा छन् । व्यवसाय, सामाजिक क्षेत्र र विभिन्न संघ–संस्थामा सफल नेतृत्वको पहिचान बनाएका श्रेष्ठले अब आफ्नो अनुभव र क्षमतालाई देश र जनताको हितमा प्रयोग गर्ने उद्देश्यसहित सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
लामो समयदेखि विभिन्न व्यावसायिक, सामाजिक तथा सामुदायिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ सफल व्यवसायीका रूपमा परिचित छन् । नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्मको अनुभव हासिल गरेका उनले विभिन्न क्षेत्रका मानिसहरूसँग काम गर्दै नेतृत्व, व्यवस्थापन र परिणाममुखी कार्यशैलीको बलियो छवि निर्माण गरेका छन् ।
सामान्यतः आफ्नो–आफ्नो क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्दा त्यसलाई सकारात्मक रूपमा हेरिने गरिन्छ । सफल व्यवसाय, संस्थागत नेतृत्व र सामाजिक योगदानमार्फत पहिचान बनाएका व्यक्तिहरूले राजनीतिमा नयाँ सोच, व्यावसायिक दक्षता र नतिजामुखी कार्यसंस्कृति भित्र्याउने अपेक्षा गरिन्छ । यही कारणले पनि सुजित श्रेष्ठको राजनीतिक यात्रालाई धेरैले आशाका साथ हेरिरहेका छन् ।
श्रेष्ठका अनुसार उनले व्यक्तिगत लाभ वा स्वार्थका लागि राजनीति रोजेका होइनन् । बरु देश, समाज र भावी पुस्ताको भविष्य निर्माणमा योगदान पु¥याउने उद्देश्यले आफूले स्थापित व्यवसायलाई समेत दोस्रो प्राथमिकतामा राख्दै राजनीतिक यात्राको सुरुआत गरेका हुन् । देशले अनुभवी, सक्षम र इमानदार नेतृत्व खोजिरहेको वर्तमान अवस्थामा आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्रका लागि उपयोग गर्न चाहेको उनको भनाइ छ ।
आदिवासी जनजाति क्लस्टरतर्फ उम्मेदवारी दिएका श्रेष्ठले पार्टीभित्र समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आदिवासी जनजाति समुदायसहित सबै वर्ग, क्षेत्र र समुदायका सदस्यहरूको आवाज केन्द्रीय तहसम्म पु¥याउन आफूले सशक्त भूमिका खेल्ने उनको दाबी छ ।
पार्टीलाई अझ लोकतान्त्रिक, उत्तरदायी र जनतासँग प्रत्यक्ष जोडिएको संगठन बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहने विश्वास उनले व्यक्त गरेका छन् ।
देश तथा विदेशमा हासिल गरेका अनुभवले नीति निर्माण, संगठन विकास र नेतृत्व व्यवस्थापनमा आफूलाई थप सक्षम बनाएको श्रेष्ठ बताउँछन् । उनले महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाको विषय नभई पार्टी र देशलाई आवश्यक पर्ने सक्षम नेतृत्व निर्माणको अभियान भएको उल्लेख गर्दै आएका छन् । ‘राजनीति मेरो लागि पद प्राप्त गर्ने माध्यम होइन, समाज र राष्ट्रलाई केही फर्काउने अवसर हो,’ श्रेष्ठले भने । उनले आफ्नो अनुभव, कार्यक्षमता, इमानदारी र समर्पणलाई मूल्याङ्कन गर्दै मतदान गर्न आग्रह गरेका छन् ।
प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीको भावी नेतृत्व चयन गर्ने भएकाले प्रतिनिधिहरूको निर्णयले रास्वपाको आगामी दिशा तय गर्ने विश्वास गरिएको छ । यही सन्दर्भमा सुजित कुमार श्रेष्ठले आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा आफूलाई विजयी गराई समावेशी, सक्षम र परिणाममुखी नेतृत्व निर्माणमा योगदान दिन सम्पूर्ण प्रतिनिधिहरूसँग हार्दिक अपिल गरेका छन् ।
राजनीति, व्यवसाय र सामाजिक सेवाबीचको सन्तुलित अनुभव बोकेका सुजित श्रेष्ठको उम्मेदवारीलाई धेरै प्रतिनिधिहरूले आशा र भरोसाको दृष्टिले हेरिरहेका छन् । सफल व्यवसायीदेखि राष्ट्रिय राजनीतिसम्मको उनको यात्रा अब महाधिवेशन प्रतिनिधिहरूको मतमार्फत नयाँ अध्यायमा प्रवेश गर्ने प्रतीक्षामा छ ।




















प्रतिक्रिया