Logo

स्वास्थ्य

समयमा रगत नपाउँदा सुत्केरीको निधन



सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।  केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माएकी छिन्   । जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो ।

सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ ३ की उहाँको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए । जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी –१० चन्दनपुर  आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताए ।

स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी कुलुङको अत्यधिक रक्तश्राव भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रेफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. भारती पण्डितले जानकारी दिए । शिशु जन्मिएदेखि नै अत्यधिक रक्तश्राव भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको थियो ।

रक्तश्राव भएपछि उनलाई तत्काल रगतको चाहिने भएपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएकाले थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका श्रीमान् बलिराम कुलुङले जानकारी दिए । सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी  आवतजावत हुन सक्दैन । कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण श्रीमतीको बाटैमा निधन भएको बलिरामले दुखेसो पोखे । शिशुको स्वास्थ्यावस्था  सामान्य रहेको जनाइएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्ने गरे पनि दुर्गमका नागरिक अनभिज्ञ भएकाले यस्तो घटना भइरहेको छ । 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १५:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।