प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।
संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।
सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन्।
फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो। अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएकाले सञ्चार मन्त्रीले प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा छ।
नेपाली कांग्रेसको ह्वीप
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ।
कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको जानकारी दिइन्।
एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ।
नेकपा एमालेको अडान
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीले कारवाही गरेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेसम्म एमसीसीको प्रक्रियामै भाग नलिने बताएको छ।
एमालेका महासचिव शंकर पोखरेलले संसदको अवरोध कायमै राख्ने बताउँदै आफ्नो माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिने बताए।
माओवादी र एकीकृत समाजवादी विपक्षमा
सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन्।
माओवादी केन्द्रको स्थायी समिति बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ।





















प्रतिक्रिया