भीमा पन्थी । नेपालकै अति व्यस्त जीवन शैली भएको ठाउँ अझ भनौ काठमाडौँको युरोप मानिने क्षेत्र, साना देखि ठूला व्यापारहरु फष्टाएको, सदा पर्यटकको भिडभाड हुने ठाउँ ठमेल !
नेपाल सरकारले जनवरी १ मा पर्यटन वर्ष घोषणा गरेसँगै उत्साहीत बनेका व्यापारीहरु !

अनि सबैको सपनालाई व्यतित गर्न मडारीएको कोभिड–१९ को कालो बादल । केही समय केही दिन र केही महिना कुर्दा कुर्दै वितेको आधार वर्ष । सुरुको केही दिनहरु त स–परिवार एकै ठाउँमा, व्यस्त सहरसँगै हराएको खुसि छल्कियो । तर दिन छाडेर महिना बित्दै जाँदा भने उराठिलो बन्दै गयो जनजीवन र व्यावसाय ।

यतिवेला ठमेलका धेरै पसल, होटल, सदा दशैँ आएजस्तो अनुभूति दिलाउने रात्रीकालिन व्यावसायका सजावट सामाग्री त्यहाँ देखिने रौनक सबै काल्पनीक जस्तो बनिसकेका छन् ।
कुनै समय भुई नदेखिने भिड हुनेठाउँ अहिले झ्याउँकुरी कराउने थलो बन्न पुग्यो । पहिलो कसैले बाटो सोध्यो भने बताउँने समय ननिकाल्ने व्यावसायीहरु अहिले दिनभरी आलस्य बनेर दिन काट्ने गरेका छन । पर्यटन वर्ष मनाउने र व्यापार फष्टाउने योजनामा रहेका व्यापारीहरुलाई ६ महिनाको लकडाउनले सुताइदियो ।

सरकारले गत चैत १० गतेदेखि अत्यावस्य सेवाबाहेक सबै क्षेत्र ठप्प गरेपछि व्यापार व्यावसायले अझै गति लिन सकेको छैन । यस अवधिमा सबै क्षेत्र प्रभावित बने सबैभन्दा प्रभावित त पर्यटन क्षेत्र नै बन्यो ।
यसको प्रत्यक्ष प्रभाव ठमेलमा दखिएको छ । सरकारले असोज १ गतेबाट लकडाउन खुकुलो बनाए पनि ठमेल बजारमा जस्तो चहलपहल छैन, बजार अझै सुनसान छ ।

काठमाडौँ ठमेल बजार पूर्ण रुपमा पर्यटकमा आधारित व्यापारिक क्षेत्र हो । पर्यटक छन् तर बजार सक्रिय छ पर्यटक छैनन् भने बजार शून्य हुन्छ । त्यस्तै पछिल्लो दिनहरूमा ठमेल बजारको अवस्था यस्तै छ । नेपालमा पर्यटक आउने बाटोहरू बन्द गरेपछि ठमेल बजार ठप्प भएको हो । पसल खुला गरेपनि व्यापारीहरू झिँगा धपाउँदै बसिरहेका छन् । सरकारले आन्तरिक रुपमा सबै सेवा खुला गरेपनि अन्तराष्ट्रिय हवाई उडान भने सञ्चालन गर्न अनुमति दिएको छैन । त्यसैले पनि ठमेल बजारमा कारोबार शून्य भएको छ । अहिले ठमेलका व्यापारीहरू बत्तिको बिल मात्रै बढाईरहेका छन् । किनकी उनीहरूको ब्यापार शून्य छ पसल खुला भएपनि । तर उनीहरु सरकारले कोरोना भाइरस सम्वन्धि आवश्यक सुरक्षा अपनाएर पर्यटकहरू आउन दिनुपर्ने माग गरिरहेका छन् ।

उसो त लकडाउन अघि पनि ठमेलका व्यवसायीहरूको दैनिक कारोबार यति नै हुन्छ भन्ने थिएन । कहिले दैनिक सामान्य व्यापारीले एक लाख रुपैयाँ बढि पनि कमाउथेँ भने कहिले शून्य व्यापार पनि हुने गरेको उनीहरु बताउँछन् । ठमेल क्षेत्रमा रमेश बानियाँले मर्स्याङ्दी एप्रिएल्स नाम रहेको पसल सञ्चालन गरेको ३० बर्ष भयो । उहाँले ३० वर्षमा राम्रो कमाई गर्नुभयो तर हाल ठमेलमा कोरोनाको प्रभाव ठूलो परेको छ ।
उनले लकडाउन अघि मासिक अनुमानित डेढ लाख आम्दानी गर्थें । मासिक डेढ लाखका दरले ६ महिनाको अवधिमा ९ लाख रुपैयाँ घाटा लागेको उनले बताए । उनले भने, “लकडाउनमा आम्दानी शून्य भएपनि फेरि घरभाडा तिर्नुपर्यो । लकडाउन अगाडि सबै खर्च कटाएर डेढ लाख आम्दानी गर्थें । त्यो आम्दानी ६ महीनामा सबै गुमेको छ ।” सरकारले असोज १ गतेदेखि पसल खुला गर्न दिएको भएपनि ग्राहक नआउँदा व्यापार शुन्य भएको उनले बताए । ३० वर्षसम्म सबैभन्दा ठूलो घाटा यसै बर्ष लागेको उनको भनाई छ । यस्तै अवस्था रहिरहने हो भने धेरै टिक्न नसक्ने उनले गुनासो गरे ।

त्यस्तै प्रकाश ढकालले ठमेलमा तीन वर्षदेखि काठमाडौं बर्गर होटल सञ्चालन गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि होटल सञ्चालन गर्न दिएपनि १० प्रतिशत मात्रै कारोबार भईरहेको ढकालले बताए । १० प्रतिशत कारोबार हुनुमा पनि फ्लाईट नपाएका पर्यटक कहिले काही देखिने गरेको भएपनि अधिकांश ग्राहकहरु नेपाली नै रहेको उनले बताए ।

ढकालका अनुसार लकडाउन अघि ६० हजार रुपैयाँ दैनिक आम्दानी हुने गरेको थियो । पहिले २४ घण्टा नै होटल सञ्चालनमा आउथ्यो भने हाल १२ घण्टा पनि सञ्चालन गर्न नपाएको उनको भनाई छ । तर लकडाउनमा उनले भाडा भने तिर्नु परेन । आफ्नै घर भएकाले भाडा तिर्न नपरेको उनले बताए । उनले भने, “लकडाउन अवधिमा २२ लाख रुपैयाँ घाटा लाग्यो । कर्मचारी पहिले १७ जना थिए । अहिले ३ जनाले मात्रै छन् । उनीहरुलाई काममा राख्दैनौ भनेका छैनौ सहज अवस्था आएपछि राख्छौ भनेर वेतलिबी छन् ।” यस्तै अवस्था रह्यो नेपालीले भात खान नपाउने अवस्था छ भने हामी पनि थेग्न नसक्ने ढकाल बताउँछन् ।

सुदर्शन खनालले चियाको ब्यापार गर्न थालेको ७ वर्ष भयो । उनलाई ६ महिनामा ८ देखि १० लाख रुपैयाँसम्म घाटा भयो । अग्रिम भाडा बुझाउनुपर्ने अन्तर्गत ६ महिनाको भाडा उनले बुझाएका छन् । उनले इलामको स्पेशल क्वालिटि ९हाई क्वालिटि० को मात्रै शुद्ध चिया बेच्ने गर्छन । मासिक ७५ हजार रुपैयाँ आम्दानी गर्दै आएका उनी शून्य ब्यापार हुँदा मन खिन्न पारेका छन् । चियाको अरु व्यवसाय जस्तो होईन ।

सिजनमा दैनिक १ लाख रुपैयाँ आम्दानी हुन्छ भने कुनै दिन एक सय रुपैयाँ मात्रै लगेर घर जानुपरेको खनाल बताउँछन । उनले भने“हामीहरुलाई लोकल मार्केट खुलेर १ प्रतिशत पनि प्रभाव परेको छैन । अहिले ब्यापार शून्य छ । जबसम्म अन्तराष्ट्रि हवाई सेवा खुला हुँदैन तवसम्म टुरिज्म टार्गेटेड पसल चल्न सक्दैनन् ।” ६ महिना गोजीबाट भाडा तिरेको भएपनि अवका दिन यस्तै अवस्था रहने हो भने थेग्न गाह्रो हुने उनले बताए । आम्दानीको अन्य स्रोत नभएपछि अरु विकल्प रोज्नुपर्ने अवस्था आउने उनी बताउँछन ।

गोर्खाका अग्नि ढकालले कपडा व्यवासाय सञ्चालन गरेको २५ वर्ष भयो । उनले मूर्तिका सामाग्रीहरु बेच्ने गर्छन । उनको पसलमा सामान पर्यटकले मात्रै किन्ने छन् । पर्यटक नआएपछि उनलाई सबैभन्दा गाह्रो भयो । यस्तो अवस्था आउँछ भन्ने थाहा पाएको भए यस्तो किसिमको व्यापार नै नगर्ने उनी बताउँछन् । उनको सबै खर्च कटाएर मासिक ५० रुपैयाँ बचत हुन्थ्यो । लकडाउनमा करिव ५ लाख रुपैयाँ जति घाटा भएको उनले बताए । पर्यटक नआएसम्म पसल खोल्नु र नखोल्नु एउटै भएको उनको भनाइ छ । तर उनले यस्तै अवस्था रहेमा एक बर्षभन्दा बढि थेग्न नसक्ने बताए । २५ बर्षको ईतिहास भएको व्यापारीले एक्कासी छोड्न पनि गाह्रो, गर्न पनि नसकिने अबस्था छ ।

त्यस्तै अर्का व्यापरी काजीमान श्रेष्ठ भन्छन् ‘लकडाउनको सुरुमहिना देखि नै मान्छे सबै हराइसके । पर्यटक त के नेपाली पनि आउनै छाडिसके,’ ‘काम गरिखान समस्या भएको छ ।’ अटोरिक्सा चालक श्यामकाजी अघिल्लो वर्षको अनुभव सुनाउँदै भन्छन् ‘पोहोर साल त खानाखाने फुर्सद पनि थिएन तर यसपटक अवस्था निक्कै खस्कियो ।’ ठमेलमा कपडा डिजाइनर अक्वान अन्सारीको पीडा उस्तै छ । विगतमा कपडाको डिजाइन र बिक्री हुँदा ७० देखि८० हजारसम्म आम्दानी हुने गरेको थियो । तर अहिले उनी मुस्किलमा छन् ।उनले भने ‘कोठा भाडा पनि तिर्न मुस्किल छ । मासिक भाडामात्रै ६० हजार रुपैयाँ छ ।’ महोत्तरीबाट आएका अक्वान २१ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएको र ०७२ सालमा भुईचालो जाँदा पनि यस्तो नभएको बताउँछन् ।

ठमेलमा यतिबेला धेरै व्यावसायहरु बन्द भएका छन् भने कति बन्द हुने अबस्थामा रहेका छन्, सरकारले प्रत्यक्ष प्रभावमा परेको भनेर घोषणा गरेपनि घोषणाको कागजले व्यावसाय नचलेको बताउँछन्, उनीहरु भन्छन् ‘बढी प्रभाव परेको भनेर के गर्ने सहुलियत पाएका छैनौ, सहुलियत र राहतको प्याकेजको प्रतिक्षा गर्दा गर्दा आँखा थाकिसके।’





















प्रतिक्रिया